स्वास्थ्य

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।

सरकारले अहिले भूकम्पमा परी निधन हुनेहरुको शव व्यवस्थापन र राहत उद्धार कार्य जारी राखेको छ । साथै भूकम्पपछि सोही स्थानलाई केन्द्रबिन्दु बनाइ गएका पराकम्पनबाट जोगिन विभिन्न उपायहरुसहित सरकारले उद्धार र राहतका कार्यहरु अघि बढाइरहेको छ। तर भूकम्पपछि आउने जोखिमका लागि आवश्यक रणनीति बनाउनुपर्ने र स्वास्थ्यमा जोड दिनुपर्ने चिकित्सकहरुको सुझाव छ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले भूकम्पपछि देखिने असरहरुबारे ध्यान राखेर आवश्यक रणनीति तयार पार्नुपर्ने बताए। उनले बालबालिका, वृद्ध र शारीरिक रुपमा अशक्त भएकाहरुलाई अहिले जाडोबाट बचाउनुपर्ने पहिलो प्राथमिकतामा राख्न आवश्यक रहेको बताए।खानपिन, चिसोबाट बचाउने उपाय र स्वास्थ्यमा विशेष ख्याल गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्राकृतिक विपद्पछि झाडापखाला, हैजा जस्ता ठूलो महामारी देखिनसक्ने अवस्थालाई ध्यान दिन आवश्यक रहेको उनले जानकारी दिए । सुरक्षित बासस्थानको अभाव र स्वस्थ खानपिनको अभावका कारण देखिनसक्ने समस्याको सम्बोधनका लागि बेलैमा आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव छ। स्वच्छ खानेपानी नहुनु, उचित बास्थानको अभाव हुनुले विपद्पछिका दिनमा ठूलो समस्या निम्तिएको नेपालको इतिहासबाट पाठ सिकेर सरकार र सबै निकायले एकजुट भइ काम गर्नुपर्नेमा  डा. रिजालले जोड दिए । 

प्रकाशित: २१ कार्तिक २०८० ०७:५८ मंगलबार

राष्ट्रिय ट्रमा सेन्टर प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल डा. बद्री रिजाल