स्वास्थ्य

शिक्षा र स्वास्थ्यमा व्यापारिकरण दुखद:डा.रुइत

वरिष्ठ नेत्रज्योति विशेषज्ञ डा. सन्दुक रुइतले शिक्षा र स्वास्थ्यमा व्यापारिककरण भएको गुनासो गरेका छन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण जयन्तीको अवसरमा आज आयोजना गरिएको कार्यक्रममा डा. रुइतले शिक्षा, स्वास्थ्यसहितका आधारभूत कुरा सरकारको दायित्व भएको जनाएका हुन्।

सरकारले स्वास्थ्य र शिक्षा पाउने जनताको अधिकारीलाई पुरा गर्न नसकेको धारणा रुइतले सिद्धार्थ वनस्थली इन्स्टिच्युटहरूले जनहितमा आफुलाई सर्मपित गर्नुपर्ने बताए । गुणस्तरी जीवनका लागि शिक्षा आवश्यक रहेको औल्याउँदै डा. रुइतले भने,‘मृत्युबाट अमरत्वतिर लाने साधन भनेको नै शिक्षा हो।’

२०२८ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका डा रुइतले विद्यार्थीहरुमा इच्छाशक्ति बढाउन र च्यालेन्ज स्विकार गर्न सक्ने क्षमता अभिवृद्धि गराउने काम शिक्षकको भएको बताए। संस्थाको भूतपूर्व विद्यार्थीलाई स्वर्ण जयन्तीमा प्रमुख अतिथि बनाएर विद्यालयले ठूलो गुन लगाएको बताउँदै शिक्षाविद् तथा सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण राजवंशीले स्मरण गरे।

विद्यालयले डा. रुइतलाई सम्मान गरेको थियो भने कार्यक्रममा प्राचार्य रुपक राजवंशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व शिक्षक टेकप्रसाद घिमिरे, पूर्वशिक्षक शिवराज पन्तले शिक्षा क्षेत्रको उन्नयनका विषयमा चर्चा गरेका थिए।

प्रकाशित: २४ आश्विन २०८० १४:५९ बुधबार

शिक्षा र स्वास्थ्यमा व्यापारिकरण दुखद:डा. रुइत