स्वास्थ्य

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन: स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन्।

आज शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य मन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताए।

उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए । दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानुन ल्याए पनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ।

उनले स्वास्थ्यकर्मीहरूको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । शान्ति सुरक्षाको हिसावले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको बताए।मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए।

मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताए।

प्रकाशित: १२ आश्विन २०८० १०:२५ शुक्रबार

स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन: स्वास्थ्य मन्त्री बस्नेत