स्वास्थ्य

चालिस कटेसी कसरी बचाउने मुटु?

विश्व मुटु दिवस

तपाईं ४० वर्षको हुुनुभयो? तपाईंमा उच्च रक्तचाप, कोलेस्ट्रोल या मधुमेहको समस्या बढ्दैछ? यस्ता समस्या भएका व्यक्तिहरू हृदयाघात या मुटुरोगको उच्च जोखिममा हुन्छन्। यो उमेर समूहका व्यक्तिले स्वास्थ्यमा ध्यान नदिए जुनसुकै बेला हृदयाघात हुने या मिर्गौला काम नलाग्ने हुन सक्ने चेतावनी चिकित्सकले दिएका छन्। बिहीबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले मुटुरोगबारे प्रस्तुति दिँदै यस्तो चेतावनी दिएका हुन्। ४० वर्ष पुगेका व्यक्तिमा मुटुरोगका कारक समस्याहरू भइसकेको हुने भएकाले नियन्त्रण नगरे हृदयाघातको उच्च जोखिम हुन्छ। हृदयाघात भए मुटु बन्द भई मुत्युसमेत हुन्छ।

डा. अनिलका अनुसार गलत जीवनशैलीका कारण ४० वर्षमुनिका युवामा समेत उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको समस्या देखिन्छ। यस्तो अवस्थामा उनीहरूले चिकित्सकको निगरानीमा औषधि सेवन तथा नियमित व्यायाम गर्ने र खानपानमा ध्यान दिएर जोखिमलाई कम गर्न सकिन्छ।

जीवनशैलीमा परिवर्तन ल्याए चिकित्सकको सल्लाहमा औषधि घटाउन र सेवन रोक्न सकिन्छ। तर आफूखुसी औषधि छाड्दा कुनै पनि बेला हृदयाघातको जोखिम हुन्छ। निश्चित उमेर पुगेपछि व्यायाम गर्दा पनि जथाभाबी गर्न नहुने डा. मूर्तिको सुझाव छ। जथाभाबी कडा व्यायाम गर्दा पनि हृदयाघात हुन सक्ने भएकाले त्यसलाई बिस्तारै बढाउनुपर्ने मूर्तिको भनाइ छ। ‘एकैचोटि कडा व्यायाम गरेका कारण हृदयाघात भएर आएका बिरामी धेरै भेटेको छु,’ उनले भने।

उनका अनुसार २० देखि ४० वर्षभित्रका युवाहरूले स्वस्थ जीवनशैली अपनाए हृदयाघातका कारकहरू मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ। तर ६० वर्षदेखि माथिका मानिसहरूले जीवनशैली परिवर्तन गरेर मात्र मुटुजन्य रोगका कारकहरू नियन्त्रणमा आउन सम्भव हुँदैन।

‘हृदयाघातबाट बच्न युवाहरूले जीवनशैली स्वस्थ बनाउन जोड दिनुपर्छ, ४० वर्षमाथिकाले मुटुजन्य रोग छन् कि भनेर सोचविचार गर्नुपर्छ, ५५/६० पुगेपछि औषधिमा जोड दिनुपर्छ,’ उनले भने। ४० देखि ६० वर्षसम्म मुटुरोगबाट बच्ने उपाय खोज्नुपर्ने सुझाव उनले दिए। त्यसअघिको उमेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेह हुन नदिने प्रयास गर्नुपर्छ। अनिलका अनुसार यो ६० वर्षदेखि माथिका मानिसहरूले जोखिम रोगहरू भए चिकित्सकको सल्लाहमा अनिवार्य औषधि सेवन गर्नुपर्छ। ‘बढी उमेरका व्यक्तिहरूले जीवनशैली परिवर्तन गरेर मात्र हुँदैन। औषधि नै सेवन गर्नुपर्छ। औषधि छोड्ने गल्ती गर्नुभयो  भने जुनसुकै बेला मुटु बन्द हुन सक्छ या मिर्गौला फेल हुन सक्छ,’ उनले भने।

चिकित्सकका अनुसार विश्वभरिका मृत्युमध्ये सबैभन्दा बढी मुटुजन्य रोगका कारणले हुने गरेको तथ्यांक छ। प्रतिवर्ष विश्वमा कुल मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगको कारणले हुन्छ। नसर्ने रोगमध्ये पनि मुटु तथा मुटुजन्य रोग, उच्च रक्तचाप, हृदयाघात, मधुमेहका कारणले बढी मृत्यु हुने गरेको तथ्यांक छ।

नेपालमा बर्सेनि मुटुरोगका कारणले कतिको मृत्यु हुन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि मुटुरोग निम्त्याउने जोखिमपूर्ण रोग उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोल बर्सेनि बढ्दै गएको अस्पतालमा बिरामीको संख्याले औंल्याउने डा. अनिल बताउँछन्।

पछिल्लो समय बाथ मुटुरोग तथा जन्मजात हुने मुटुरोगको निदान र उपचार भई नियन्त्रणमा आइसकेको अवस्थामा हृदयाघात नियन्त्रणमा आउन सकेको छैन। मुटुरोगमध्ये हृदयाघात मृत्युको मुख्य कारण हो। संसारमा ५० प्रतिशतभन्दा बढी मृत्यु हृदयाघातका कारणले हुने गरेको तथ्यांक छ।  चिकित्सकका अनुसार जिउ सुन्निनु, छाती दुख्नु, स्वाँस्वाँ बढ्नु, बेहोस हुनु, थकान हुनु हृदयाघातका मुख्य लक्षण हुन्। मानिसले मुटुको रोग भन्नेबित्तिकै हृदयाघात भनेर बुझ्छन्।

हृदयाघातका कारण धेरै मानिसको मृत्यु हुन्छ। घरमा हृदयाघात भए र त्यही बेला मुटु बन्द भए बिरामीको उपचार सम्भव हुँदैन र मृत्यु हुन्छ। हृदयाघातको जोखिम भएका मानिसलाई सुरुमा खानपान र व्यायामबाट सुधार गर्न सकिन्छ। समयसमयमा मुटु जाँच गर्दा मुटुमा समस्या देखिए मिनिमल इन्भेसिभ उपचार अर्थात् एनजिओप्लास्टी गरेर अवरोध भएको धमनी खोल्न सकिन्छ। अरू पनि परीक्षण छन्। यो उपचार अपे्रसनबिना सम्भव हुन्छ। अर्को प्रविधि बाइपास अपे्रसन र पेस मेकर प्रविधिबाट पनि उपचार गर्न सकिन्छ।

मुटुजन्य रोगका कारक तत्त्वहरू

चिकित्सकका अनुसार उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल मुटुरोेग अर्थात् हृदयाघातका मुख्य कारण हुन्। मुटुजन्य रोेगको अन्य कारणहरूमा तनावजन्य जीवनशैली, मोटोपन, बढी तौल, अस्वस्थ खाना, उमेर, शारीरिक निष्क्रियता, प्रदूषण, बढी महत्त्वाकांक्षा, रिसाहा स्वभाव, धूमपान तथा मदिरा सेवन हुन्। यीमध्ये धेरैजसो कारक तत्त्वले हृदयाघात भई मृत्यु हुने जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्। यस्ता रोेग हामीले अपनाउने गलत जीवनशैली नै मुख्य कारण हुन्। हृदयाघात महिलाको तुलनामा पुरुषमा बढी हुन्छ।

कसरी बच्ने?

हरेक व्यक्तिले मुटुजन्य रोेगको कारक तत्त्व बेलैमा नियन्त्रणमा राखे ५५ वर्ष या ६० वर्षसम्म मधुमेह,उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या नहुन सक्छ। तर नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहमा जोखिम रोगहरूको औषधि सेवन गर्ने, सन्तुलित भोजन गर्ने, धूमपान, मद्यपान नगर्ने, रातोमासुको बढी प्रयोग नगर्ने, सरल जीवनशैली, खानामा सागपात, फलफूलको प्रयोग गर्ने, तनावरहित जीवनशैली, नियमित व्यायाम, तौल, उच्च रक्तचाप नियन्त्रणमा राख्ने, मोटोपना घटाउने र नियमित मुटुजाँच, स्वास्थ्य जाँच गरे मुटुजन्य रोगबाट बच्न सकिने चिकित्सको सुझाव छ। ‘चिकित्सकका अनुसार दैनिक कम्तीमा १ घन्टा छिटोछिटो हिँडे मुटुरोगबाट बच्न सकिन्छ।

प्रकाशित: १२ आश्विन २०८० ००:५९ शुक्रबार

विश्व मुटुरोग दिवस चालिस कटेसी कसरी बचाउने मुटु ? मुटुजन्य रोगका कारक तत्त्वहरू