स्वास्थ्य

स्वास्थ्य संस्था सुरक्षा ऐन कार्यान्वयन नहुँदा असुरक्षित भए स्वास्थ्यकर्मी, कहाँ कसरी कुटिए ?

के–के छन् ऐनमा व्यवस्था ?

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सक कुटपिट घटनालाई लिएर चिकित्सकले देशभर आन्दोलन गरे। आन्दोलनको क्रममा चिकित्सकले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए। आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो।

सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने,  उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने,  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने लगायत बुँदाहरु समावेश थिए।  

तर,उक्त सहमति भएको केहि दिन नबित्दै देशभरका विभिन्न अस्पतालका चिकित्सकमाथि फेरी पनि हातपात भएको छ। सहमति भएको केहि दिनपछि मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप पोखरेलमाथि हातपात भयो। पोखरेललाई बुढीगंगा गाउँपालिका ७ का ३८ वर्षीय शुक्रराज माझीले इमर्जेन्सी वार्डमा डिउटीमै रहेका डा. पोखरेलमाथि हातपात तथा दुव्र्यवहार गरेका थिए।  

त्यस्तै लमजुङ जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सन्दीप अधिकारीलाई पनि वडाध्यक्षले कुटपिट गरेका छन्। बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले आइतबार राति डाक्टर अधिकारीलाई कुटपिट गरेका हुन्। वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको चेकजाँच गरी राति साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेत आएर कुटपिट गरेको अस्पतालले जनाएको छ। बस्नेतले नर्सिङ कक्षको ढोका फोडी भित्र प्रवेश गरेर टाउको र छातीमा लात्ती, मुक्कासमेत प्रहार गरेको डाक्टर अधिकारीले बताएका छन्।

यता पोखराको मणिपाल शिक्षण अस्पतालमा पनि उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकमाथि हातपात भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका सबै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन्। हेटौंडा, लमजुङपछि लगत्तै पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन्।

पूर्व स्वास्थ्य सचिव डा प्रविण मीश्र सरकारले निर्माण गरेको ऐन कानुनहरुको कार्यान्वयन हुनुपर्ने बताउँछन्। मीश्र भन्छन्, ‘सरकारले चिकित्सकमाथि भएको आक्रमणमा कस्ता खालका कानुनहरु बनेका छन् त्यसको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्दछ। हाम्रोमा बिरामीको अवस्था गम्भिर भइसकेपछि मात्र अस्पताल लाने प्रचलन छ। त्यसलाई पनि हटाउन आवश्यक छ।’

उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलबार गृह मन्त्रालयमा आन्दोलनरत चिकित्सकसंग भएको छलफलमा गृहमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्।  

यस्तो छ ऐन 

स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ जारी गरिएको छ।

ऐनमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि समेटिएको छ। ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी  गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख गरिएको छ।

सो दफाअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर तल उल्लेखित कार्य गर्न गराउन नहुने उल्लेख छ। कसुर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ’ भनिएको छ।

तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ  र थप सजायको प्रक्रिया अघि बढाइनेछ।  

ऐनमा यस्तो छ कसुर र सजाय  

१. स्वास्थ्य संस्थामा आगजनी गरेमा: दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने।

२. स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याएमा ः तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने।

३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरीक रूपमा चोट पुर्‍याएमा: तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने  

माथि उल्लेखित तीनवटै कसुरमा अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखिने व्यवस्था ऐनमा गरिएको छ। त्यसैगरी अन्य तीनवटा कसुरमा एउटै सजाय लागु हुनेगरी ऐनले व्यवस्था गरेको छ।  

१. स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा  

२. स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याएमा। 

३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, कुनै किसिमको धम्की, गालीगलौज अभद्र वा अपमानजनक व्यवहार गरेमा।  

यी तीन कसुर गरेको हकमा एक वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा यी दुवै सजाय हुनसक्ने व्यवस्था ऐनमा गरिएको छ।

प्रकाशित: ९ आश्विन २०८० १४:०१ मंगलबार

स्वास्थ्य संस्था सुरक्षा ऐन स्वास्थ्यकर्मी