स्वास्थ्य

वीरमा दसैंपछि ‘टोमोथेरापी’ सञ्चालन हुने

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो। वीर अस्पतालले पाँच वर्षअघि खरिद गरेको मेसिन गत वर्ष खिया लागेको पाइएपछि नयाँ मेसिन ल्याइएको हो। सो मेसिन लाइफ लाइन ट्रेड इन्टरनेसनलले खरिद गरेर ल्याएको हो।

टोमोथेरापी क्यान्सरका बिरामीका लागि रेडियोथेरापी उपचार दिने प्रविधि हो। यो उपकरणले क्यान्सर भएको ठाउँमा मात्र केन्द्रित भएर रेडियसन दिन्छ। यो प्रविधिबाट रेडियसन दिँदा क्यान्सरग्रसित कोष र ट्युमरमा मात्र विकीरण दिने भएकाले राम्रो कोषलाई असर गर्दैैन। सिटीसक्यान गर्दै देखिएको क्यान्सरग्रस्त ससाना कोषहरूमा विकीरण दिइने भएकाले यो प्रविधिको उपचार परम्परागत रेडियोथेरापीको तुलनामा आधुनिक र लाभदायक मानिन्छ। नेपाल आइपुगेसँगै कम्पनीले वीर अस्पतालमा तयारी अवस्थामा रहेको बंकरमा प्रविधिकहरू लिएर जडान गर्ने काम गरिरहेको अस्पतालले जनाएको छ। जडानको काम ८५ प्रतिशत सकिएकोले परिक्षण सेवा दुई सातापछि नै सुरु गर्न सकिने बताइएको छ । 

प्रकाशित: २९ भाद्र २०८० ०३:२० शुक्रबार

वीरमा दसैंपछि ‘टोमोथेरापी’ सञ्चालन हुने ‘टोमोथेरापी’ राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल