स्वास्थ्य

किन हुन्छ हृदयघात ?

नेकपा (एमाले) उपाध्यक्ष रहेका सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ। बेहोस अवस्थामा मंगलबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका नेम्वाङको अस्पताल नपुग्दै निधन भइसकेको थियो। ‘उहाँ अस्पतालमा आइपुग्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएकाले हामीले प्रयास स्वरूप ३५ मिनेटसम्म सिपिआर गरेका थियाैं,’ अस्पतालको विज्ञप्तिमा उल्लेख छ।  

अस्पताल आइपुग्दा उनको आँखाको नानीसमेत फुलिसकेको थियो। नेम्वाङलाई मंगलबार बिहान १ः५० बजे अस्पताल पुर्याइएको थियो। मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका नेम्वाङलाई सोमबार ज्वरो आउनेसहितका समस्या देखिएको थियो। चिकित्सकको सल्लाहमा निवासमै आराम गर्दै आएको एमाले नेता तथा पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।  

यसरी हुन्छ हृदयघात?  

मुटुमा रक्त सञ्चार गर्ने नलीहरू हुन्छन्। यसलाई कोरिनरी आर्टरी भनिन्छ। यी नलीको काम मुटुको मांसपेशीलाई आवश्यक पर्ने अक्सिजन, ग्लुकोजलगायत पोषण तत्व पुर्याउने हो। कुनै कारणवस यी रक्तनलीमा अवरोध आयो भने त्यो भागमा रक्त सञ्चार कम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ। यसलाई ‘हर्ट अट्याक’ अर्थात् हृदयघात भनिन्छ।  

चिकित्सकका अनुसार मुटुमा रक्त सञ्चार गर्ने दुई नलीहरू हुन्छन्। जसलाई दायाँ र बाँया धमनी भनिन्छ। बायाँ धमनीबाट थप दुईवटा ठूला नलीहरू हुन्छन्। यी ठूला नलीहरूसँगै अन्य साना नलीहरू पनि हुन्छन्। यी ठूला नलीमध्ये कुनैमा अवरोध भयो भने ठूलो हृदयघात हुन्छ र सानो नलीमा अवरोध भयो भने सानो तहको हृदयघात हुन्छ।  

गंगालाल हृदय केन्द्रमा सन् २०२२ मा हृदयघात भएर दुई हजार ८६ जना पुगेका थिए। तीमध्येमा सात सय २२ जनाको एन्जिओग्राम गरिएको थियो। सेन्टरको आकस्मिक कक्षमा दैनिक औसत आठदेखि १० जना ठूलो सानो हृदयघातको समस्या लिएर पुग्छन्।

राष्ट्रिय गंगालाल हृदय केन्द्रका मुटुरोग बिशेषज्ञ डा. सुजिव राजभण्डारीका अनुसार पुरुषमा ५५ वर्षमाथिका महिला र ४५ वर्षमाथिका पुरुषहरू हृदयघातको जोखिममा हुन्छन्। मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल अनियन्त्रित भएमा हृदयघात हुन्छ। योबाहेक कसैको परिवारमा वंशाणुगत कारणले पनि हृदयघात हुन्छ। जसको रगतको नशा कारणवश पहिला नै साँघुरो भइसकेमा, धेरै तनावमा बाँचिरहेका, मोटोपन बढी भएका, अत्यधिक रक्सी सेवन गर्ने र धुमपान गर्ने मानिसहरू पनि हृदयघातको जोखिममा हुन्छन्।

पछिल्ला वर्षमा नेपालमा हृदयघात हुनेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको मनमोहन कार्डियोभास्कुलर, थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल बताउँछन्। उनका अनुसार जोखिम उमेर समूहबाहेक युवा समूहमा समेत हृदयघात हुने समस्या बढ्दै गएको छ।  

गंगालाल हृदय केन्द्रमा सन् २०२२ मा हृदयघात भएर दुई हजार ८६ जना पुगेका थिए। तीमध्येमा सात सय २२ जनाको एन्जिओग्राम गरिएको थियो। सेन्टरको आकस्मिक कक्षमा दैनिक औसत आठदेखि १० जना ठूलो सानो हृदयघातको समस्या लिएर पुग्छन्। तीमध्येमा तीनजना घातक हृदयघात भई एन्जिओग्राम गर्ने अवस्थाका छन्।

उच्च जोखिममा को-को ?

कुनै पनि जो मधुमेह,उच्चरक्तचाप र कोलस्ट्रोलको समस्यामा छन् , उनीहरूमा हृदयघात हुने जोखिम उच्च हुने डा. गजुरेल बताउँछन्। डा. गजुरेलका अनुसार उच्च रक्तचाप र कोलेस्ट्रोलले मुटुको धमनीभित्र गएर बोसोको लेयर जम्मा गर्दै जान्छ। धमनी विस्तारै बन्द हुन गई हृदयघात हुन्छ। त्यसैगरी मधुमेह भएका व्यक्तिहरूमा कोलेस्ट्रोल बढ्ने, धमनीको कोषिका नष्ट गर्ने,धमनीको इन्फ्लामेशन गराउने गर्छ। यी कारणले मुटुको धमनीहरू साँघुरिन जाने र कुनै पनि बेला हृदयघात हुन सक्छ। यसको साथै मधुमेहमा शरीरमा चिनीको मात्रा बढी हुने भएकोले शरिरमा कोलेस्ट्रोल तथा अनावश्यक बोसोजन्य पदार्थ उत्पादन गर्ने हुँदा पनि हृदयघातको जोखिम बढ्छ।  

हृदयघातलाई चिकित्सकीय भाषामा ‘साइलेन्ट किलर’ भनिन्छ। यो हृदयघात हुनु अघि कुनै लक्षण नदेखाउने र एक्कासी हृदयघात हुने भएकोले यसलाईं साइलेन्ट किलर भनिएको हो। तर हृदयघात हुने नजिकको समयमा भने केही लक्षण देखाउँछ। सुरुमा छातिको देव्रे भाग दुख्न थाल्ने, पसिना आउने र कतिपयमा ग्यास्ट्रिकको जस्तो लक्षण देखिन्छ। कतिपय अवस्थामा दुखाइ छातीको दायाँ र पछिल्लो भागमा समेत पुग्ने डा. राजभण्डारी बताउँछन्। देबे्र भागवाट सुरु भएको दुखाइ अन्य भागमा पुग्न थाल्छु, छाती भारी हुने जस्ता लक्षण देखिएमा जोखिममा भएका समूहले ढिला नगरी एन्जिओग्राम (मुटुको नशाको प्वाल खोल्ने ) सेवा भएका अस्पतालहरूमा सक्दो छिटो पुग्ने र इसिजी गर्न चिकित्सक सुझाउँछन्। सेवा भएका अस्पतालहरूले एन्जिओग्राम) सेवामार्फत मुटुमा साँघुरिएको या बन्द भएको धमनी तार मार्फत खोल्ने या अन्य औषधी माफैत रक्तसंचार प्रवाहमा सहज हुन्छ। तत्काल हृदयघातवाट बच्न सकिन्छ। अस्पताल नजिक नभएको अवस्थामा बिरामीहरूले फार्मेसीवाट किनेर रगत पातलो बनाउने औषधी ‘एस्प्रिन’ नामक औषधि खाइहाल्नु पर्छ। त्यसपछि जतिसक्दो छिटो नजिकको अस्प्ताल पुगेमा बच्न सकिने डा. राजभण्डारी बताउँछन्।  

हृदयघातका कारणहरू  

आधुनिक जीवनशैलीसँगै मानिसहरूमा आरामदायी जीवनशैली, अनावश्यक रूपमा प्रशोधित खानाको प्रयोग,बढी नुनिलो, गुलियो र चिल्लोयुक्त खानाको प्रयोग, तनावयुक्त जीवनशैली, धुमपान र मद्यपानको सेवन जस्ता कारणले हृदयघातको जोखिम रोगहरू मधुमेह, उच्चरक्तचाप र कोलस्ट्रोल बढ्दै गइरहेको यी दीर्घरोेगहरू नियन्यत्रणमा नभएमा हृदयघात हुने चिकित्सकहरू बताउँछन्। धुमपान र मद्यपान र तनावले पनि रक्तनली साँघुरो बनाउने र पछि गएर हृदयघातको जोखिम बढ्ने चिकित्सक बताउँछन्। नेपालमा पछिल्लो समय आरामदायी, तनावयुक्त जीवनशैली , अस्वस्थ जीवनशैली नै हृदयघातको मुख्य कारण भएको डा. गजुरेल बताउँछन्। ‘अस्वस्थकर खाना र आरमदायी जीवनशैलीले ३० वर्षमै उच्च रक्तचाप र कोलस्ट्रोलको समस्या हुने युवाहरू धेरै छन्, उनीहरू नै हृदयघातको जोखिममा पर्दछन्,’ गजुरेलले भने।  

कसरी बच्ने?

- मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोल नियन्त्रणमा राख्ने  

- अनिवार्य रूपमा मधुमेह, रक्तचाप र कोलस्ट्रोलको समय–समयमा जाँच गर्ने  

- चुरोट, रक्सी सेवन नगर्ने

- नियमित व्यायाम गर्ने

- अस्वथकर खाना नखाने र सन्तुलित भोजन गर्ने  

- नियमित रूपमा स्वास्थ्य जाँच गर्ने

प्रकाशित: २७ भाद्र २०८० ०१:४० बुधबार

किन हुन्छ हृदयघात ?