स्वास्थ्य

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने

अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ। गत सोमबार साँझ आकस्मिक कक्षमा पुगेकी हेटौंडाकी पाँच वर्षीया बालिका रेजिशा गोपालीकोे समयमै उपचार हुन नसकी मृत्यु भएको भनी आफन्तले विरोध जनाएका थिए। सो घटनाले संसद्देखि सर्वसाधारणसम्ममा चर्चा चलेको थियो।  

अस्पतालको आकस्मिक कक्षलाई तीन तहमा वर्गीकरण गरी बिरामीको उपचार प्राथमिकता तोकिने (ट्र्याड वर्गीकरण) गरी उपचार प्रक्रिया सुरु भएको छ। अस्पतालका सूचना अधिकृत रमेशनरसिंह केसीका अनुसार अस्पतालले रातो, पहेंलो र हरियो तहमा बिरामीको वर्गीकरण गरी उपचार सुरु गरिसकेको छ। यो व्यवस्था अनुसार रातो शाखामा धेरै गम्भीर खालका बिरामी उपचार गरिनेछ। पहेंलो तहको बिरामी आकस्मिक कक्षभित्रकै दोस्रो तहको सिकिस्त बिरामीमा पर्नेछन्। यो वर्गका बिरामीलाई १० जनाभित्रको लाइनमा उपचार भइसक्नेगरी उपचार गरिनेछ र तेस्रो वर्गको बिरामी जो सामान्य अवस्थाका हुनेछन् उनीहरूको त्यहीअनुसार उपचारको प्राथमिकतामा पर्नेछन्। घटनालगत्तै अस्पतालले सुधार गरिसकेको अस्पतालका सूचना अधिकृत रमेशनरसिंह केसीले बताए।  

‘हाम्रो पक्षवाट देखिएका कमजोरी सुधार गरिसकेका छांै। सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालयसँग जनशक्ति माग गरेका छौं,’ उनले भने। प्राथमिकता वर्गीकरण प्रक्रियाबाट उपचार गर्न एउटा नर्सिङ कर्मचारी खटाइसकेको र उनले बिरामीको अवस्था हेरी जटिल, मध्यम जटिल र सामान्य बिरामी तोकेर पठाउने गरेको अधिकृत केसीले बताए। यही अवधिमा बिरामी आउनबित्तिकै आकस्मिक कक्षको टिकट काट्नेगरी छुट्टै काउन्टरको व्यवस्था गरेको अस्पतालले जनाएको छ।

मेडिकल काउन्सिलले अध्ययन गर्दै  

समयमा उपचार नपाई बालिको मृत्यु भएको भन्ने घटनाको विषयमा नेपाल मेडिकल काउन्सिलले छुट्टै अध्ययन गरिरहेको काउन्सिलका रजिष्ट्रार  

डा. कृष्ण प्रसाद अधिकारीले बताए। उनका अनुसार काउन्सिलको संयन्त्रले घटनास्थल पुगेर प्रारिम्भक अध्ययन गरिसकेको छ। घटनाको सत्यतथ्य छानबिनपछि प्रतिवेदन दिने काउन्सिलका रजिष्ट्रार अधिकारीले बताए। एक÷दु्ई दिनमै अध्ययन सकिएर सकिने गरी छानबिन समितिले काम गरिररहेको अस्पतालका प्रवक्ता डा. सुमित अग्रवालले बताए। ‘एक÷दुई दिनमै प्रतिवेदन बाहिर आउँछ,’ उनले भने।  

अस्पतालमा जनशक्ति अभावको कारणले आकस्मिक कक्षमा प्राथमिकता वर्गीकरण हुन नसक्दा मृतक बालिका ढिला गरी कक्षमा पुगेको पाइएको सूचना अधिकृत केसीले बताए। यो अस्पतालको आकस्मिक कक्षमा पुगेपछि लाइनमा बसी उपचार गर्ने प्रक्रिया हुनु, बिरामीको आफन्तले आफ्नो समस्याको बारेमा प्रभावकारी सूचना सम्पे्रषण गर्न नसक्नुजस्ता कारणले बालिकाको उपचार केही ढिला हुन पुगेको देखिएको केसीले बताए। ‘खोकी लागे पनि, ज्वरो आए पनि आकस्मिक कक्षमै बिरामी आउँदा सबै बिरामी एउटै दर्जामा पुग्नुले ढिलाइ भएको देखिन्छ,’ उनले भने। अस्पतालको उपचार प्रभावकारी बनाउन थप जनशक्ति माग गरेको र त्यो व्यवस्थापन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले जनाएको केसीले जानकारी दिए। तर सुरक्षा गार्डलाई आफ्ना बिरामीको बारेमा यकिन समस्या बताउन नसकेकाले पनि ढिलाइ हुनसक्ने केसीको भनाइ छ।  

मृतक रेजिशाका हजुरबुवा कृष्ण बहादुर गोपालीका अनुसार रेजिशालाई एक दिनअघि नै वान्ता भएको थियो, नजिककैको मेडिकलले दिएको झोल औषधि किनेर खुवाएको र त्यसको भोलिपल्ट पनि झन् सकस भएपछि बालिकाकी आमा साढे चार बजे अस्पताल पुगेकी थिइन्। अस्पताल पुग्नेबित्तिकै टिकट काट्ने ठाउँ नदेखेर केही ढिला भएको थियो। यो अवधिमा रेजिशालाई थप समस्या भइरहेको थियो। त्यही क्रममा ससुरा कृष्ण बहादुर साँझ अस्पताल पुगे। उनी अस्पताल पुगेपछि गार्डले जान दिएको थिएन। तर उनले गार्डलाई धकेलेर रेजिशालाई भित्र पु¥याए। ‘म पुग्दा नातिनीले अस्पतालले हेरेन म घर जान्छु, घर जान्छु भनेकी थिइन्,’ कृष्णबहादुरले भने। त्यसको आधाघण्टापछि चिकित्सकले मृतक घोषणा गरे। जतिबेला साँझको साढे सात बजेको थियो।  

बालिकालाई वान्ता हुने र श्वासप्रश्वासको समस्या बढेको हजुरबुवा कृष्णा बहादुरले बताए। उनलाई दुई वर्षअघि निमोनियाँ भएको थियो। तर अस्पतालले पहिल्यै भएको संक्रमणको कारण ‘सेप्टिक सक’ भएर बालिकाको मृत्यु भएको जनाएको छ। यकिन कारण भने छानबिन समितिले बाहिर ल्याउने प्रवक्ता अग्रवालले बताए।  

घटनापछि मृतक रेजिशाका आफन्तले कान्ति बाल अस्पतालमा विरोध प्रदर्शन गरे। अस्पताल प्रशासनले छानविन गर्ने जनाएपछि उनीहरूले मंगलवार नै बालिकाको अन्त्येष्टि गरेका थिए। घटनापछि मकवानपुरका एक सांसदलाई बताएपछि उनले संसदमा चर्चा पाएको बताए। सोही घटनाको विषयलाई लिएर सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दोषीउपर कारबाहीको माग गरेका थिए। 

प्रकाशित: २५ भाद्र २०८० ०१:११ सोमबार

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने कान्ति बाल अस्पताल