स्वास्थ्य

प्रतिष्ठानलाई स्वास्थ्यमन्त्रीको आग्रह: राम्रोसँग काम गर्नुहोस्, बजेटको चिन्ता नगर्नुस्

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताएका छन्। उनले स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलिसिस सेवाको उद्घाटन गर्न जुम्ला पुगेका मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

स्वास्थ्यमन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गौरवको विषय बनेको बताए। उनले प्रतिष्ठानलाई दिगो विकास र स्तरउन्ती गर्न सकारात्मक रहेको दाबीसमेत गरे।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एकताको आवश्यकता हुन्छ’, उनले भने, ‘त्रिपक्षीय दौँतरी सम्बन्ध अपरिहार्य छ। राम्रोसँग काम गर्नुहोस्, बजेटको कुनै पनि चिन्ता लिनुपर्दैन।

उनले सरकार दृढता संकल्पता साथ लाग्ने आश्वासन दिए। प्रतिष्ठानलाई चाहिने आवश्यकता के हो ? पहिचान र आवश्यकताका आधारमा मात्रै सहयोग गरिने उनको भनाइ थियो।

उनले तत्कालका लागि एम्बुलेन्स र ब्लड बैंकको व्यवस्थापन छिटै गरिने प्रतिबद्धता जनाएका छन्।

देशैभरका स्वास्थ्य सुधारको प्रयासमा आफू लागिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले भने ‘बिहान साढे सात बजे नै मन्त्रालय पुगेर मध्यरातसम्म काम गरिरहेको छु। आफ्नो यही खटाइले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन हुन्छ भन्ने विश्वासमा आफू पुगेको उनको भनाइ छ।

मन्त्री बस्नेतले आफ्नै प्रयासमा हरेक अस्पतालले १० प्रतिशत शय्या विपन्न वर्ग लाई अनिवार्य छुटाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको दाबी गरे।

पहिल्यैदेखि यो व्यवस्था भए पनि अस्पतालले सुविधा दिएका थिएनन्। म मन्त्री भएपछि कार्यान्वयनमा ल्याएँ उनले भने।

प्रकाशित: १४ भाद्र २०८० १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App