स्वास्थ्य

स्वास्थ्य मन्त्री जोशीकाे सय दिनको उपलब्धि: निःशुल्क शय्या र उपचारमा जोड

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

२०८० जेठ ७ गतेबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका जोशीले बुधबार एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

मन्त्री जोशीले आम नागरिकको सहज स्वास्थ्य सेवा नै आफ्नो मुख्य योजना रहको बताएका छन्। संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धी अधिकारको सुनिश्चितता लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेशका स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्दै नागरिकलाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्ने बताए। निःशुल्क स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर नागरिकको बिमा र अस्पतालमा देखिएका बिमा सम्बन्धी समस्या समाधानमा लागिपर्ने उनको भनाई थियो।

यस्तै कार्यालय समयमा अस्पतालमा नबस्ने डाक्टरलाई कानुन बमोजिम कारबाही गर्ने मन्त्री जोशीले चेतावनी दिए।

‘हुने खाने भन्दा हुँदा खाने वर्गमा सहज र सुलभ स्वास्थ्य सेवा पुर्‍याउने अभियानमा रहेका छौं’, उनले भने, ‘बागमती प्रदेशभर ८११ शय्या निःशुल्क रुपमा विपन्नका लागि व्यवस्था गरेका छौं।’ 

सामान्य नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुसार मन्त्रालयले बिमा अभियान विस्तार गरेको उनले जानकारी दिए।

मन्त्री जोशीका सय दिने उपलब्धिहरू

बागमती प्रदेशका स्वास्थ्य मन्त्री जोशीले भदौ १ गतेदेखि आम नागरिकको लागि मन्त्रालय अन्तर्गतका १३ वटा प्रादेशिक अस्पतालको आइसियु र क्याबिन बाहेक ८११ शय्याहरु निःशुल्क उपलब्ध गराएका छन्।

प्रदेशका सबै अस्पतालमा विपन्न असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनुका साथै प्रदेशमा सञ्चालित सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा निशुल्क सवारी पार्किङ व्यवस्था, प्रदेशका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट निःशुल्क रिहाविटेसन र फिजियो थेरापी सेवा, प्रदेशका लोपोन्मुख तथा सीमान्तकृत जाती एवम् आश्रममा रहेका असहाय ६३७ परिवारका नागरिकको २५ लाख ८६ हजार रुपैयाँ लागतमा निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छन्।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निः शुल्क हवाई उद्धार सम्बन्धी कार्यविधि २०८०’ मन्त्रिपरिषद्बाट स्वीकृत समेत भएको छ। मन्त्री जोशीले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी थप कार्य योजना समेत तयार पारेका छन्। चालु आर्थिक वर्षमा एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण कार्यक्रम संचालनका लागि ११ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन् भने स्थानीय तहका स्वास्थ्य संस्था सबलीकरण कार्यक्रमका लागि १० करोड २२ लाख रुपैयाँ विनियोजन गरेका छन्।

विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा सहज स्वास्थ्य सेवा प्रदान गर्न हब तथा सेटेलाईट अस्पतालहरुको सञ्जाल निर्माण गर्ने, प्रदेशमा आवश्यक आयुर्वेद औषधीमा आत्मनिर्भर हुनका लागि आयुर्वेद औषधी उत्पादन केन्द्रको क्षमता अभिवृद्धि गरी मापदण्ड अनुसारको औषधी उत्पादन गर्ने, मानव अंग प्रत्यारोपण केन्द्रसँगको समन्वयमा हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरुवात गर्ने योजना रहेको उनले बताए।

प्रकाशित: १३ भाद्र २०८० १५:३७ बुधबार