स्वास्थ्य

कार्यक्रम रोकिएपछि सूर्तिजन्य पदार्थको लत छुटाउने निकोटेक्स प्रयोगकर्ता अलपत्र

सुर्तिजन्य पदार्थको लतमा परेका प्रयोकर्ताहरुलाई लत छुटाउन सरकारले वितरण गरेको निकोटेक्स नामक औषधी प्रयोग सुरु गरेकालाई नै पुरा डोज नपुगी सकिएपछि प्रयोगकर्ता अलपत्र परेका छन्।

गत जेठ महिनामा राजधानीको दुई वटा सरकारी अस्पतालहरु भक्तपुर क्यान्सर अस्पताल र वीर अस्पतालवाट यो औषधी वितरण कार्यक्रम सुरु भएको थियो। विश्व स्वास्थ्य संगठनले नमूना कार्यक्रम अन्तर्गत नेपाललाई दिएको सो औषधी निःशुल्क दिएको थियो।

सुर्तिजन्य पदार्थको लत लागेका व्यक्तिहरुलाई छोड्न चाहेकाहरुलाई सुरुमा परामर्श दिने र ६ सातासम्म निगरानीमा ‘निकोटेक्स’ नामक चुइँगम जस्तै निकोटिन सहितको पदार्थ मुखमा खैनी च्यापेजस्तै च्याप्न सिकाइन्छ।  लगातार १२  सातासम्म निकोटेक्स सेवन गरेपछि उनीहरुको सूर्ति,खैनी र चुरोटको लत छुट्छ।

सुरुमै प्रयोगकर्ताको भीड लागेपछि दुइ सातामै सकिएको वीर अस्पताल क्यान्सर विभागकी नर्स विमला रिसालले बताइन्। सुरुमा प्रयोग गरेर फलोअपमा आउनेले थप निकोटेक्स नपाएपछि अलपत्र परेको नर्स रिसालले बताइन्। ‘पुरै लत छोड्ने गरी कतिलाई तीन महिनाको लागि दिनु पथ्र्यो, कतिलाई दुइ महिनाको लागि चाहिन्थ्यो, एक महिना पनि पुरा पाएनन्’ उनले भने। निकोटेक्सको प्रयोगवाट वास्तवमै सुर्तिको लत छोड्न चाहानेहरु केही समयको प्रयोगपछि अलपत्र परेको उनले बताइन्। छोड्न चाहाने नयाँ र पुराना दुवै सेवाग्राहीको फोन आउँदा फेरी सरकारले दिएमा खवर गर्छौ भन्ने जवाफ दिने गरेको उनले बताइन्।

वीचैमा कार्यक्रम रोकिएपछि लत छोड्न चाहाने वास्तविक प्रयोगकर्ता मर्कामै परेको वीर अस्पताल अन्कोलोजी बिभागका प्रमुख डा. विवेक आचार्यले बताए। ‘न अस्पतालमा खोज्दा पाउँछन् , न बजारमा किन्न पाइन्छ’ उनले भने। अस्पतालले संधै निशुल्क ः वितरण गर्न नसकेपनि बजारमा उपलब्ध भएमा उनीहरुले चिकित्सकको निर्देशनमा यो प्रयोग गर्न सक्ने विकल्प रहेको बताए। निकोटेक्स छिमेकी राष्ट्र भारतमा उत्पादन भएपनि नेपालमा यसले बिक्री वितरणको लागि अनुमति पाइनसकेको हुनाले प्रयोगकर्ता बंञ्चित भएको उनको भनाइ छ। ‘वीर अस्पतालले अरु स्रोतवाट भएपनि वितरण गर्न खोजेको थियो, बजारमा आएको छैन ’ डा. आचार्यले भने।

निकोटेक्स प्रयोग गरेका मध्येमा हल्का लत लागेकाहरुले सुर्तिजन्य पदार्थ छोडिसकेको भक्तपुर क्यान्सर अस्पताल मेडिकल अन्कोलोजी बिभागका प्रमुख डा. रोशन प्रजापतिले बताए। उनको अनुसार दिनमा पाँच÷छ पटक धुमपान गर्ने या सुर्तिै लिनेहरुले निकोटेक्स प्रयोग गरेको छोटौं समयमै लत छोडिसकेका छन् भने दैनिक धेरै पटक चुरोट या खैनी प्रयोग गरेकाहरुले भने थप एक महिना निकोटेक्स लिनु पर्ने देखिन्छ। तर दुवै प्रयोगकर्तामा लत छोड्ने आत्मविश्वास भने निकोटेक्स प्रयोग गर्न थालेपछि बढेको पाइएको डा. प्रजापतिको भनाइ छ। ‘अब धुमपान प्रयोग गर्दिन् भन्ने सोंच जागृत भएको छ’ उनले भने। यो अस्पतालले सुरुमै प्रयोगकर्ता अनुसार पूर्ण डोज दिने तयारीका साथ निकोटेक्स भण्डारण गरेको थियो।

प्रयोगकर्ता अलपत्र परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रसंग वैठक  बसी विकल्पको लागि पहिलो चरणको वैठक  बसेको डा. आचार्यले बताए। डा. आचार्यका अनुसार वैठकमा बिक्रीको लागि अनुमति दिने बिषयमा पनि छलफल भएको र सरकारी पक्ष सकरात्मक देखिएका छन्। ‘निकोटेक्स बजारमा किन्न पाउने या अस्पतालमा पाउने व्यवस्था भएमा प्रयोगकर्ताले लाभ लिन सक्छन्’ उनले भने।

निकोटेक्सको थप व्यवस्थापनको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक चरणको संवाद भइसकेपनि कुनै निर्णय नभइसकेको स्वास्थ्य  शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. सुनिल शर्माले बताए। ‘कार्यक्रम निःशुल्क निरन्तर गर्नको लागि खर्चको कुरा आउँछ, सो उच्चस्तरीय निर्णयवाट मात्र सम्भव छ’ उनले भने।

सरकारले राहतमा दिने स्थिति नहरेपछि निकोटेक्स बजारमा किन्न मिल्ने गरी बिक्रीमा ल्याउने तयारी भएको वीर अस्पताल अन्कोलोजी बिभागका प्रमुख डा. विवेक आचार्यले भने। उनको अनुसार सरकारले गत जेठमा विश्व स्वास्थ्य संगठनको नमूना परियोजना अन्तर्गत वितरण गरेको निकोटेक्स वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पतालबाट वितरण गरेका थिए। सुरुमा निशुल्कः वितरण गरिएको निकोटेक्स लतको मात्रा अनुसार कम्तीमा दुइदेखि तीन साता प्रयोग गर्नु पर्छ। तर चिकित्सकको सिफारिस र निगरानीमा प्रयोग गरेमा मात्र यसको उचित प्रभाव पर्ने डा. आचार्य सुझाउँछन्।  

प्रकाशित: ८ भाद्र २०८० ०८:१५ शुक्रबार

सुर्तिजन्य पदार्थ निकोटेक्स