स्वास्थ्य

प्रसूति सेवामा अब्बल कपिलवस्तु अस्पताल

कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।

यहाँ सामान्यदेखि जटिल प्रसूति सेवा दिइने र सकभर रिफरसमेत न्यून गर्ने गरिएको छ। ब्लड बैंकको समेत व्यवस्था गरिएको तथा सुत्केरीलाई सरकारले तोकेअनुसारको यातायात खर्च र अन्य सुविधासमेत अस्पतालले दिँदै आएको छ। गत आर्थिक वर्ष २०७९-०८० मा दुई हजार एक सय नौजनाले प्रसूति सेवा लिएको अस्पताल प्रसूति शाखाकी हेड नर्स लीला शर्माले बताइन्। त्यसमध्ये एक हजार तीन सय ८३ सामान्य, एक सय ३४ जटिललाई प्रसूति सेवा उपलब्ध गराइएको हेड नर्स शर्माले बताइन्।

पाँच सय ९१ जनालाई जटिल प्रसूति सेवा दिइएको तथा अन्य स्वास्थ्य संस्थाबाट रिफर भई आएका एक सय ४२ जनालाई पनि प्रसूति सेवा उपलब्ध गराइएको शर्माले बताइन्। एक सय ४२ प्रसूति सेवा भने अस्पतालबाट दिने सेवामा गणना गरिएको छैन। आर्थिक वर्ष ०७८-०७९ मा दुई हजार दुई सय ४३ जना तथा ०७७-०७८ मा एक हजार सात सय ३४ जनाले यहाँ प्रसूति सेवा लिएका थिए। यस्तै चालु आर्थिक वर्षको साउन महिनामा दुई सय २९ महिलाले अस्पतालमा प्रसूति गराएका छन्। प्रसूति सेवा विशेषज्ञसहित तालिम प्राप्त नर्सले अस्पतालमा प्रसूति सेवा दिँदै आएको हेड नर्स शर्माले बताइन्।

दक्ष जनशक्तिद्वारा राम्रो र व्यवस्थित शल्यक्रिया सेवासमेत दिइने भएकाले अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढ्दै गएको कपिलवस्तु अस्पतालका डा. विपिन जैसवालले बताए। ‘हामीले एकदमै जटिलबाहेक अरू प्रसूति सेवा यहीं उपलब्ध गराएका छौं’, उनले भने, ‘जनविश्वास बढेपछि यहाँ प्रसूति गराउनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।’

यसैगरी प्रोटोकलअनुसार गर्भ जाँच गराएका महिलाले सुत्केरीपश्चात् प्रोत्साहनस्वरूप न्यानो झोला र यातायातवापत एक हजार रूपैयाँ र चारपटक गर्भ जाँच गराएमा रिपोर्टका आधारमा आठ सय थप गरी एक हजार आठ सय रूपैयाँ उपलब्ध गराइने छ। यहाँ अन्य पालिकाबाट समेत प्रसूति गराउन आउँछन्।

प्रकाशित: ६ भाद्र २०८० ०२:०१ बुधबार

प्रसूति सेवामा अब्बल कपिलवस्तु अस्पताल