स्वास्थ्य

कोरोनाविरुद्धको खोप अभियान चलाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ।

कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो। १२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ।

महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ। यसअघि कोरोनाविरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोबास गर्ने सबै खाले नागरिकले खोप लगाउन सक्नेछन्। 

जस अन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को सहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ।

बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ विरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिए। 

उनले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताए। उनले खोप प्रवर्द्धनका लागि अन्य कार्य योजना बनाएर अघि बढेको पनि उल्लेख गरे।

प्रकाशित: १७ श्रावण २०८० १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App