स्वास्थ्य

म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ ले घटे डेंगुका बिरामी

दुई वर्षअगाडिसम्म म्याग्दीमा सरुवा रोग डेंगु संक्रमणको ग्राफ भयावह थियो। डेंगुका शंकास्पद बिरामीको बेनी अस्पतालको बहिरंग कक्ष (ओपीडी), इमरजेन्सीका साथै ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा लाइन हुन्थ्यो। सहर बजारदेखि दुर्गम बस्तीसम्म डेंगु महामारीले आक्रान्त बनाएको थियो। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रण बाहिर थियो। विगतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा म्याग्दी गण्डकी प्रदेशकै धेरै डेंगु संक्रमित भएको जिल्ला र नेपालमा समेत टप १० भित्र पर्ने गरेको म्याग्दीमा पछिल्लो दुई वर्ष संक्रमितको संख्या नाटकीय रूपमा घटेको छ।

मनसुन सुरु भएसँगै बेनी अस्पताल र जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा डेंगु संक्रमित आउने गरेको भए पनि यस वर्ष तुलनात्मक रूपमा घटेको बेनी अस्पतालकी सूचना अधिकारी खेमकुमारी पन्तले बताइन्। ‘बर्खासँगै डेंगुको संक्रमण बढेको छ। विगतमा जस्तै भयावह अवस्था छैन’, पन्तले भनिन्। उनका अनुसार डेंगुको संक्रमितको संख्या कमी भए पनि अझै जोखिम भने कायम रहेको बताइन्। वरिष्ठ नर्सिङ अधिकृतसमेत रहेकी पन्तले बर्खा सकिएपछि र जाडो सुरु हुन थालेपछि मात्रै संक्रमणको जोखिम कम हुने बताइन्।

म्याग्दीमा रोकथाम तथा नियन्त्रणमा गरेको कामका आधारमा डेंगुका बिरामी घटेको र पछिल्लो समय सर्वसाधारणसमेत सचेत भएको अवस्थामा लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको वासस्थान हटाउने अभियानसमेत प्रभावकारी भएको सूचना अधिकृत पन्तको भनाइ छ। म्याग्दीमा वैशाख, जेठ र असारमा २१ जनामा डेंगु पोजिटिभ देखिएको थियो भने गत वर्षको चैतसम्म १ सय १० जना संक्रमित भएका थिए।

त्यस्तै मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको संक्रमणको जोखिममा गएको तीन महिनामा सातजना र गत वर्ष २३ जनामा पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ। बेनीबाट डेंगु र स्क्रब टाइफसको पोजिटिभ भएका केही बिरामी थप उपचारका लागि पोखरासमेत रिफर गरिएको थियो। डेंगु संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने, डेंगु फैलने स्थान पहिचान गरी थप कार्ययोजनासहितको गतिविधिले यस वर्ष संक्रमितको संख्या घटेको बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द पोख्रेलले बताए। ‘सचेतनामूलक कार्यक्रमले संक्रमितको संख्या घटेको छ, जोखिम कायमै रहे पनि यसपटक नियन्त्रण बाहिर जाने सम्भावना छैन’, डा. पोख्रेलले भने। उनले डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित जोखिम मानिएका स्थानमा नियमित सरसफाइसहितको अभियान सञ्चालन गर्नुपर्ने बताए।

यो संक्रमणमा कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ। एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने भए पनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको बताए। उनले डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। स्क्रब टाइफस र डेंगुका लक्षण करिब एउटै हुने भए पनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु स्क्रब टाइफसका प्रमुख कारण भएको डा. पोख्रेलको भनाइ छ। डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सदरमुकाम बेनीमा यो सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘अलिअलि पानी जम्यो भने पनि त्यसमै डेंगु लामखुट्टे हुर्कन्छ। पानी जमेको ठाउँमा सफा गरिहाल्नुपर्छ’, डा. पोख्रेलले भने।

बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्वास्थ्य कार्यालयले खोज तथा नष्टसहित प्रदेशबाटै टोलीले पहिचान गरी ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालनसमेत गरेको थियो। स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले डेंगुबाट जोगिन ‘खोज र नष्ट’ नै सबैभन्दा पहिलो र सुरक्षित विधि भएकाले विगतमा सर्वसाधारणले भोगेका समस्या, समाधानका उपायका बारेमा जानकार भएकाले यस वर्ष संक्रमणको दर उकालो लाग्न नसकेको बताए। ‘हामीले डेंगु नियन्त्रणका लागि सधैं सचेतनामूलक कार्य गरेका छौं। सर्वसाधारण सचेत भएमा यो सजिलै नियन्त्रण गर्न सकिन्छ’, प्रमुख लम्सालले भने। उनले म्याग्दीका स्थानीय तहले समेत डेंगु नियन्त्रणका लागि आवश्यक रणनीति तय गरी वैशाखदेखि असोजसम्म निरन्तर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए।

सन् २०१९ देखि म्याग्दीमा नियमित डेंगुविरुद्धको सचेतनामूलक अभियानसँगै सम्भावित जोखिम स्थानको पहिचान गरी निरन्तर खोजले सहज भएको छ। म्याग्दीको सदमुकाम बेनीमा सबैभन्दा धेरै जोखिम सवारी साधनको ग्यारेजमा राखिएका थोत्रा टायरमा जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेको लार्भा भेटिएको अवस्थामा अहिले ग्यारेजका मालिक एवं मजदुरले समेत आफ्नै पहलमा सरसफाइमा जोड दिएका छन्।

‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’ अभियान जारी रहेको बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले बताए। उनले पानी राख्ने भाँडा, ट्यांकी तथा खाल्डाखुल्डी पुर्ने र पानी राख्ने भाडा साप्ताहिक रूपमा सफा गर्ने, बजारभित्रको कौसीखेतीमा जमेको पानी हटाउनेजस्ता अभियानसमेत यसपटक सञ्चालन गरिएको बताए।

म्याग्दीमा हालसम्म भेटिएका संक्रमितको ट्राभल हिस्ट्रीका बारेमा समेत स्वास्थ्यकर्मीले बिरामीसँग बुझ्ने गरेका छन्। महामारी रोग विज्ञानले पनि महामारी रोगको अनुसन्धान र सर्भिलेन्समा ट्राभल हिस्ट्रीलाई महत्वपूर्ण मानिन्छ। म्याग्दीमा डेंगुसँगै स्क्रब टाइफसका बिरामीसमेत देखिएको बेनी अस्पतालले जनाएको छ। मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको संक्रमणको जोखिममा रहेका बिरामीले हेल्चेक्राइँ गरेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ।

प्रकाशित: ११ श्रावण २०८० ०२:१२ बिहीबार

डेंगु