स्वास्थ्य

सिन्धुली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

स्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा जिल्लामा रहेका १४ हजार ३ सय ९२ जना बालबालिकालाई आवश्यक खोप दिइएकाले पूर्ण खोप घोषणा गरिएको हो।

आइतबार एक औपचारिक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरेका हुन्।

मुख्यमन्त्री जमकट्टेलले आन्तरिक तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ प्रदेशकै स्वास्थ्यमन्त्री तथा सिन्धुली जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु र स्वास्थ्यकर्मीका माझ पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरेका हुन्।

१६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेपछि पूर्ण खोप भएको जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा बालबालिकालाई प्राणघातक रोगबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु समयमा नै पूर्ण गराउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रतिबद्धता  समेत गर्न लगाइएको छ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गरी हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएका सुनिश्चितता गर्ने समेत प्रतिबद्धता जनाइएको छ। 

सो अवसरमा स्थानीय कलाघरका कलाकारहरुले सडक नाटक मार्फत बालबालिका बिरामी भएमा धामी झाँक्रीकोमा जाने चलन अझै भएकाले धामी झाँक्रीलाई छाडेर अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए।

खोप लगाउने समय भएका सबै बालबालिकालाई खोप दिएका छौ, र आगामी दिनमा जन्मने बालबालिकालाई समेत खोप सुनिश्चितता गरेका छौ, खोप अधिकृत पुष्पराज पन्तले भने। 

कार्यक्रममा सहभागी अधिकांश वक्ताले बालबालिकाले समयमै खोप पाउनुपर्ने र दीर्घकालीन रोगबाट बचाउनुपर्ने औँल्याएका थिए।

प्रकाशित: ३१ असार २०८० १०:२० आइतबार