स्वास्थ्य

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या घट्दै गएको छ।

गत आर्थिक बर्ष ८ सय ४० जना किशोरी स्वास्थ संस्थामा सुत्केरी भएका थिए भने यस आर्थिक बर्षमा यो संख्या ३ सय १० मा झरेको छ।

जुम्लामा ८ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको तथ्यांक अनुसार २० बर्ष उमेर नपुग्दै सुत्केरी हुनेको संख्या अघिल्ला बर्षहरूको तुलनामा घट्दै गएको हो।

८ वटै स्थानीय तहका स्वास्थ्यकर्मीद्धारा सार्वजनिक तथ्यांकमा सबैभन्दा बढि जुम्लाको चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी सुत्केरी भएको उल्लेख छ। साथै सबैभन्दा न्युन सिंजा गाउँपालिकामा ५ जना २० बर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

गुठिचौर गाउँपालिकामा ७५ जनामा ४३ जनाले २० बर्ष नपुग्दै बच्चा जन्माएको गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख बालाराम नेपालीले बताए। पातारासी गाउँपालिकामा १ सय ४२ मा ४१, हिमा गाउँपालिकामा १ सय १४ मा २७, तिलामा १ सय ३६ मा २२ जनाले उमेर नपुग्दै बच्चा जन्माएका स्वास्थ्य कार्यालय जुम्लाकानिमित्त प्रमुख प्रेमबहादुर सुमाइले बताए।

सिंजामा १ सय ४९ मा ५ जना, तातोपानीमा ९३ मा २१ जना र कनकासुन्दरीमा १ सय ६० मा २४ जना सुत्केरी भएको  तथ्यांकमा उल्लेख छ।

यस तथ्यांकले पहिले भन्दा बालबिवाह कम हुने गरेको अवस्था बुझाएको तातोपानी स्वास्थ शाखा प्रमुख गुरूप्रसाद चौलागाईले जानकारी दिए। सुमाइले बालविवाहको तथ्यांक बर्षोनी घट्दै गइरहेको बताए।

प्रकाशित: ३० असार २०८० १६:३४ शनिबार