स्वास्थ्य

सर्पदंशबाट वैशाखयता नौजनाको मृत्यु

वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ। सर्पदंशका कारण हालसम्म नौजनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको हो। महाशाखाका अनुसार वैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

काठमाडौंस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हालसम्म १ सय ५० जना उपचारका लागि पुगेका छन्। मंगलबारसम्ममा १५ जना भर्ना भई उपचारमा छन्। पछिल्ला दिनमा सर्पदंश बढेर दैनिक १० देखि १५ जना उपचारका लागि आउने गरेको अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्। सर्पको टोकाइका लागि अनुकूल मौसम थप दुईदेखि अढाइ महिना बाँकी रहेकाले यसको टोकाइबाट बच्न जुनोटिक तथा सरुवा रोग शाखाले अनुरोध गरेको छ। ‘थप दुईदेखि अढाइ महिना सर्पको प्रकोप बढ्ने मौसम छ, सबै जना सचेत भएर बस्नुपर्छ,’ जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझाले भने। नेपालमा बर्सेनि औसत १ हजार जना सर्पको टोकाइमा पर्ने गरेको जुनोटिक शाखाको तथ्यांक छ। तीमध्ये १५ देखि २० जनाको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। सर्पले टोकेका र टोकाइबाट मृत्यु भएकाहरूको यकिन तथ्यांक रिपोर्टिङ नहुनाले सर्पको टोकाइमा पर्नेहरूको यकिन तथ्यांक नभएको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझा बताउँछन्।  

उनका अनुसार टोकाइबाट मृत्यु भएकामध्ये ४० प्रतिशतको मृत्यु समुदायमै हुने, ४० प्रतिशतको बाटामै हुने र बाँकी २० प्रतिशतको जानकारी केन्द्रसम्म आइपुग्दैन। यो हिसाबले नेपालमा प्रतिवर्ष १ सय जनाको सर्पदशंका कारण मृत्यु भएको देख्न सकिन्छ।

चिकित्सकका अनुसार गर्मी या पानी परेको मौसममा सर्पहरू आफ्नो आहाराको खोजीमा जमिन बाहिर निस्कने, कुखुरा, भ्यागुता, मुसा खाने क्रममा उनीहरू कुखुराको खोर, मुसा भएका घर, झाडीजस्ता ठाउँमा पुग्छन्। यस्तो बेलामा मानिससँग जम्का भेट हुँदा मानिस सर्पको टोकाइमा पर्छन्। पहाडी भेगको तुलनामा तराईका जिल्लामा विषालु सर्प धेरै हुने कारण सर्पको टोकाइबाट तराईका मानिसको वर्षेनि बढी मृत्यु हुन्छ। मृत्यु हुनेमा धेरैजसो कृषक हुने गरेको चिकित्सक बताउँछन्। झुल नलगाई सुत्ने, सुत्नुअघि कोठा चेक नगरी सुत्ने, झाडी या खेतबारीमा जाँदा प्लास्टिकको बुट या पन्जाको प्रयोग नगर्दा पनि सर्पले सजिलै टोक्ने गर्छ।

अहिले पनि सर्पको टोकाइ, उपचार र सर्पको प्रकारको विषयमा समुदायमा हुने मिथ्या र भ्रमका कारण समयमै उपचार नगराउँदा धेरैको मृत्यु हुने गरेको डा. ओझाले बताए। कुनै पनि सर्पले टोकिसकेपछि सर्प विषालु हो यो गैरविषालु भन्ने विषयमा जानकारी नहुने तर समुदायमा अहिले पनि आफ्नै अनुमानको भरमा उपचार गर्ने, धामीझाँक्रीको भरमा उपचार गर्ने, सिन्दूर, झारजस्ता जडीबुटी लगाउने गर्नाले उपचारमा पुग्न ढिला भई धेरैको मृत्यु हुने गरेको डा. ओझा बताउँछन्।

सर्पदंशको लक्षण र उपचार  

सर्पले टोकेपछि विषालु सर्प र टोकाइको तहअनुसार फरक छिटो र ढिलो गरी लक्षण देखिन्छ। विषालु सर्पले टोकेपछि टोकेको भागमा धेरै दुख्ने, शरीरबाट रगत बग्ने, जिब्रो बाहिर निस्कने, घाँटी अड्याएर बस्न नसक्ने, आँखा खोल्न नसक्ने, पेट दुख्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन्। यी लक्षण बढ्दै गएर बिरामीको मृत्युसमेत हुन सक्छ। यसकारण कुनै पनि सर्पले टोक्नेबित्तिकै नआत्तिने, सर्पले टोकेको भागमा नचलाउने, छिटो आफन्त गुहार्ने, सक्दो छिटो कुनै पनि साधनमा चढेर नजिकको सर्पदंश उपचार केन्द्रमा पुग्ने गरे सर्पले टोकिहालेमा बाँच्न सकिने चिकित्सक सुझाउँछन्।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखाका अनुसार नेपालभरका सरकारी अस्पताल र त्योबाहेक ९० वटा सर्पदंश उपचार केन्द्रहरू छन्। प्रतिवर्ष २० हजार भायल सर्पदंशको औषधि आपूर्ति गरिरहेको जुनोटिक शाखाले जनाएको छ। यसका साथै समुदायमा सर्पदंशको जनचेतना जगाउन रोटरी क्लबसँग मिलेर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।

सर्पदंशबाट कसरी बच्ने

–घरभित्र झुल लगाएर मात्र सुत्ने

–घरको झ्यालढोकामा जाली लगाउने  

– सुत्नुअघि कोठा चेक गरेर मात्र सुत्ने  

– घरबाहिर राति निस्कँदा टर्चको प्रयोग गर्ने  

– घरबाहिर खेतबारीमा जाँदा बुट तथा पन्जाको प्रयोग गर्ने  

– कुनै पनि काम गर्दा सर्प हेरेर मात्र काम गर्ने

प्रकाशित: २८ असार २०८० ०१:०९ बिहीबार

सर्पदंशबाट वैशाखयता नौजनाको मृत्यु