स्वास्थ्य

स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती राजदूतावासका कार्यवहाक राजदूतको शिष्टाचार भेटघाट

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले बुधबार शिष्टाचार भेटघाट गरेकी छिन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटघाटमा मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार भएको बताउदै नेपालको स्वास्थ्य प्रणाली सुधारमा बेलायत सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।

२२ वर्ष पहिले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै मन्त्री बस्नेतले बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताए। स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवाद दिएका छन्।

नेपालका लागि बेलायती राजदूतावासका कार्यवाहक राजदूत पिप्पा बर्डले नेपाल र बेलायत पुरानो दौत्य सम्बन्ध भएका देश भएको स्मरण गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढिकरण र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्विमा सहयोग गर्न बेलायत सरकार तयार रहेको बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोसन पोखरेलले नेपालको स्वास्थ्य क्षेत्र सुधारमा बेलायत सरकारको सहयोग उल्लेखनीय रहेको बताए।

प्रकाशित: २७ असार २०८० ०७:०५ बुधबार

मोहनबहादुर बस्नेत