स्वास्थ्य

कालिकोटमा एकै गाउँका ३ सय ११ जना बिरामी

बिरामीको स्वास्थ्य चेकजाच सुरु

स्वास्थ्य चेकजाच गदै चिकित्सकको टोली। तस्विर- नागरिक

कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगरपालिका र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो।

गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए। प्रयोगशालामा नजाँचिकन रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ। रोगले महादेव मावि रुडुका १ सय ३० सहित गाउँका अन्य गरी १ सय ७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो।

गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा. टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा. रामानन्द चौधरी, डा. डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो।

गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने तिलागुफा नगरपालिकाले जनाएको छ।

अधिकांश बिरामीहरू महिला र बालबालिका रहेका छन्। शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ। जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २ सय ६ जना छन्। 

प्रकाशित: २३ असार २०८० ०७:३७ शनिबार

कालिकोटमा एकै गाउँका ३ सय ११ जना बिरामी अज्ञात रोग फैलिएपछि कालिकोटको तिलागुफा १० रुडुगाउँ