स्वास्थ्य

कोलेस्टोरेल र युरिक एसिड कसरी घटाउने ?

डा.ध्रुवप्रसाद सिंह

एमडी जनरल फिजिसियान

मेरो कोलेस्टोरेल र युरिक एसिड बढेको छ। म बिहान ७ बजेदेखि राति ९ बजेसम्म व्यस्त हुन्छु। बैंकमा काम गर्ने भएकोले कुर्सीमै बढी बस्नुपर्छ। मेरो परिवारमा कसैलाई यस्तो समस्या छैन। यी दुवै कुरा कसरी घटाउन सकिन्छ?

अमित कुमार

 

युरिक एसिड बढेको छ मात्रै भन्नुभएको छ। कति बढेको छ? प्रोटिनयुक्त खाना बढी हुँदा युरिक एसिड बढ्छ। गेडागुडी रातो मासुको मात्रा घटाउनु नै युरिक एसिड घटाउने उपयुक्त विधि हो। सामान्यतः युरिक एसिड बढी हुँदा भन्दा पनि यसको लक्षण कस्तो छ भन्ने खुलेको छैन्। अति दुखाई छन् भने त औषधि खानुपर्छ। उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सी सेवन, पिसाब बढी लगाउने औषधि प्रयोगजस्ता थुप्रै कारणले असर पर्न सक्छ। युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछा–मासु एकदमै घटाउने, मदिरा नपिउने र शरीरको तौल आफ्नो उचाई मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सी सेवन र बढी माछा–मासुको भोजनबाट टाढा रहे युरिक एसिडले निम्ताउने समस्याबाट मुक्ति मिल्छ।

युरिक एसिडजस्तै कोलेस्टेरोल पनि शरीरका लागि निकै हानिकारक हुन्छ। युरिक एसिड घटाउन नखाएका कतिपय खाना कोलेस्टेरोलमा फाइदाजनक हुन सक्छन्। खानाको सन्तुलन मिलाएर खाने र कोलेस्टोरेल धेरै न बढेको छ भने त औषधि नै खानुपर्छ। सामान्यतः हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने, चिल्लो र मासु कम प्रयोग गर्नाले तौल घट्छ र कोलेस्टोरले पनि घट्छ।

पोलिस्याचुरेटेड फ्याटी एसिड भएका खाना माछा, बदाम, ओखर (नरिवलबाहेक) राम्रो मानिन्छ। यद्यपि काँचै खान मिल्ने तरकारी खाने, तेल, घिउ, मखन, मासुको बोसो कम गर्ने, घिउमा बनाइएका खाना कम खाने, लसुन सेवन गर्ने, कलेजो, गिदी, मृगौला, चकलेट तथा आइसक्रिम नखाने, बढी नुन­चिनी भएका खाना नखाने, रातो मासु नखाने, मकै, भटमास एवं जैतुनको तेल सेवन गर्नाले कोलेस्टेरोल घट्छ।

(यस स्तम्भका लागि तपाईंका कुनै समस्या छन् भने हामीलाई निम्न ठेगनामा लेखि पठाउनुस्। हामी सम्बन्धित विषयका विशेषज्ञसँग समाधानको प्रयत्न गर्नेछौ।)

प्रकाशित: १९ वैशाख २०७४ ०४:०७ मंगलबार

कोलेस्टोरेल युरिक एसिड कसरी घटाउने