स्वास्थ्य

वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा देवकोटाको अर्धकदको प्रतिमा अनावरण

वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ। विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्राडा देवेकोटाको पित्तनलीको क्यान्सरबाट २०७५ साल असार ४ गते निधन भएको थियो।

चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। पूर्वस्वास्थ्यमन्त्री समेत रहेका प्राडा देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्राडा दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्त रूपमा अनावरण गरेका थिए।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउने प्राडा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्राडा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्राडा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताए।

उनले प्राडा उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको बताए। स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्राडा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रूपमा २०७९ साल फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो।  

प्रकाशित: ३ असार २०८० ०४:२८ आइतबार

वरिष्ठ स्नायु शल्यचिकित्सक प्राडा उपेन्द्र देवकोटा देवकोटाको अर्धकदको प्रतिमा अनावरण