कतै स्वादिलो नाममा तपाईंले पनि क्यान्सर लाग्ने खाना दिनहुँ खाइरहनु भएको छ कि? अब बेलैमा सचेत हुनुहोस् नत्र पछि गएर क्यान्सरको सामना गर्नुपर्ला! चिकित्सकले ८० देखि ९० प्रतिशत क्यान्सर गलत खानपान र जीवनशैलीका कारण हुने गरेको बताएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।
उनी क्यान्सरबाट जोगिन सही खानपान र जीवनशैली अपनाउन सुझाउँछन्। पछिल्लो समय क्यान्सर निम्त्याउने खानेकुराको प्रयोग बढेसँगै यसका रोगी पनि वृद्धि हुँदै गएको उनले बताए। चुरोट, खैनी, मदिरा क्यान्सर निम्त्याउने पहिलो कारक तत्व हुन्। पोलेको खाना, बासी खाना, बढी चिल्लोयुक्त खानाले पनि क्यान्सर लाग्छ। यस्ता खानेकुरा लगातार बढी मात्रामा सेवन गर्दा कालान्तरमा गएर शरीरका विभिन्न अंगमा क्यान्सर हुन सक्छ। चुरोट लगायत सुर्तीजन्य पदार्थमा त क्यान्सर बनाउने तत्व कार्सोजेनिक पदार्थको मात्रा बढी नै हुन्छ। यसले फोक्सो, मुख र घाँटीको क्यान्सर हुन्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।
त्यसैगरी मदिराले कलेजोमा क्यान्सर बनाउँछ। चिल्लो तथा मासुजन्य भुटेतारेका खाना बढी खाने तर नियमित व्यायाम नगर्ने व्यक्तिमा मोटोपना बढ्ने र त्यसले मधुमेह, उच्च रक्तचाप जस्ता रोगसँगै क्यान्सर पनि निम्त्याउँछ। मोटोपना भएका व्यक्तिमा खाने नली, मोटो आन्द्रा, आमाशय, स्तन, मिर्गौला, प्याङक्रियाटिक, पित्त नली, कलेजो इन्डोमेट्रियल लगायतमा क्यान्सर लाग्छ।
नेसनल क्यान्सर इन्स्टिच्युटको अध्ययनअनुसार मानिसमा बढ्दै गएको मोटोपनाका कारण मष्तिस्क र मेरुदण्डको नलीमा मेनिन्ग्योमा नामक क्यान्सरका साथै रगत, मिर्गौला, पाठेघर, अण्डाशय, पित्तथैली, माथिल्लो पेट, स्तन, थाइराइड, कलेजो, ठुलो आन्द्रा र मलद्वारको क्यान्सरहरू बढेको छ।
चिकित्सकका अनुसार मानव शरीरमा कोषहरू सुरक्षा संयन्त्रमा हुन्छन्। ती संयन्त्रहरूमा बाहिरी तत्व प्रवेश गरेपछि शरीरको सुरक्षा संयन्त्र कोषहरूले बाह्य तत्वजस्तै कोष निर्माण गर्न थाल्छन्। त्यही कोष निर्माण गर्ने क्रममा राम्रो कोषको सट्टा नराम्रो कोषको अनियन्त्रित वृद्धि हुन्छ। यसैलाई अर्बुद्ध वा क्यान्सर रोग भनिन्छ। डा. शाहीका अनुसार चुरोटको धुवाँमा हुने कार्सोजेनिक तत्व बारम्बार फोक्सोको कोषमा पुगेपछि त्यसले क्यान्सर बन्न सघाउँछ।
कसरी जोगिने?
-स्वच्छ र ताजा खाने कुरा खाने
-प्याकेटका तथा फास्टफुड खाना नखाने
-पोलेभुटेका मासुजन्य खाना नखाने
-बासी खाना नखाने
-नियमित सातआठ घण्टा निदाउने
-नियमित एक घण्टा व्यायाम गर्ने
-मदिरा, सुर्तीजन्य पदार्थ सेवन नगर्ने
उनी भन्छन्, ‘लामो समयसम्म गलत खानपानका कारण कब्जियत र पखालाको समस्या झेलिरहेका व्यक्तिहरूमा पछि गएर ठुलो आन्द्रा या पेटको क्यान्सर हुन सक्छ। चिल्लो तथा बासी खानाले संक्रमण गर्दा पनि क्यान्सर हुन्छ। शरीरका अन्य अंगहरूमा पनि यसैगरी क्यान्सर हुन सक्छ।’
चिकित्सकका अनुसार पोलेका तथा भुटेका खाने कुरामा पनि बढी मात्रामा कार्सोजेनिक तत्व हुन्छ। ती खानेकुराले पनि क्यान्सर बनाउन सहयोग पुर्याउँछन्। नेपालमा पछिल्लो समय फास्टफुडको लहर चलेका कारण पनि क्यान्सर रोगी बढ्दै गएको डा. शाही बताउँछन्।
प्राकृतिक, स्वच्छ खानेकुरा खाने, नियमित व्यायाम गरे मोटोपनाका कारण हुने क्यान्सरबाट बच्न सकिने उनको सुझाव छ। चुरोट, मदिरा सुर्र्तीजन्य पदार्थ सेवन नगर्ने, दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, कम्तीमा सातआठ घण्टा सुत्ने, तनाबमुक्त रहने, बासी, बोसोयुक्त, भुटेतारेका तथा पोलेका खानेकुरा नखाने तथा फाइबर, सागपात, फलफूल मिश्रित खानेकुरा खाँदा आफ्नै कारण निम्तिने क्यान्सरबाट जोगिन सकिने डा. शाहीले बताए।
चिकित्सकका अनुसार पोलेका तथा भुटेका खाने कुरामा पनि बढी मात्रामा कार्सोजेनिक तत्व हुन्छ। ती खानेकुराले पनि क्यान्सर बनाउन सहयोग पुर्याउँछन्।
‘पाँचदेखि १० प्रतिशत क्यान्सर मात्र वंशाणुगत कारणले हुन्छ, बाँकी ९० प्रतिशत हाम्रै गलत खानपान र जीवन शैलीका कारण हुन्छ। त्यसैले गलत खानपान र जीवन शैलीमा सुधा ल्याऔं,’ उनले भने।
प्रकाशित: ३२ जेष्ठ २०८० ०१:०३ बिहीबार