स्वास्थ्य

रक्तदाता दिवसमा साइकल यात्रा

नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाले २० औ विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज भक्तपुरमा साइकल यात्रा गरेको छ। यात्रा विहान ६ बजे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दूध पाटी भक्तपुरबाट सुरु भएको थियो।

साइकल यात्रामा भक्तपुरका विभिन्न सहरहरूको परिक्रमा गरेको थियो। रेडक्रसको कार्यालय दूध पाटीबाट सुरु भएको यात्रा दूध पाटीमै पुगेर टुंगिएको थियो। दूध पाटीबाट यात्रा क्रमशः हाकुफो हिटी— व्यासी— महालक्ष्मी— कमलविनायक— च्याम्हासिंह— दतात्रय— टौमढी पुगेको थियो। त्यहाबाट पुनः राममन्दिर— सूर्यविनायक— चुनदेवी— सल्लाघारी तीनकुने — चांगा गणेश— सिद्धपोखरी— दूध पाटी भक्तपुर बहुमुखी क्याम्पस अगाडि पुगेर टुंगिएको थियो। कुल यात्रा ८ किलोमिटरको रहेको जनाइएको छ।

यात्रापछि दूध पाटीमा रक्तदान कार्यक्रम भएको थियो रक्तदानमा १८ वर्षका १८ जना नवयुवाहरूले रक्तदान गरेका थिए। साथै अन्यले पनि रक्तदान गरेका थिए।

सोही अवसरमा रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाड्नुहोस, अक्सर बाँड्ने गर्नुहोस् भन्ने मूल नाराका साथ रक्तदाताहरू, रक्तदान कार्यक्रम आयोजक संघसंस्थाहरुलाई प्रशंसा पत्र,मायाको चिनो प्रदान गरिएको थियो। साथै रक्तसञ्चार बुलेटिन प्रकाशन गरी विमोचनसमेत गरिएको थियो। 

प्रकाशित: ३१ जेष्ठ २०८० १३:१५ बुधबार

रक्तदाता दिवसमा साइकल यात्रा