स्वास्थ्य

पैसा अभावमा कोही उपचारबाट बञ्चित नहोस् : मन्त्री बस्नेत

हेटौंडा अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेत लगायत।

संघीय सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अवस्था कमजोर भएकै कारण कोही मान्छे अकालमा मर्ने अवस्था आउन नहुने बताएका छन्।

आज आकास्मिक हेटौंडा अस्पतालको अनुगमन गर्न आइपुगेका उनले उपचार गर्न नसकेकोले कोही पनि मान्छेले ज्यान गुमाउने अवस्था आउन नहुने बताएका हुन्। ‘स्वास्थ्य मन्त्रालय मानवीय समवेदनासँग जोडिएको मन्त्रालय हो। एक मिनेटको गल्तीले हजारौंको ज्यान जान सक्छ, राम्रो कामले हजारौंलाई बचाउन पनि सक्छौं’, मन्त्री बस्नेतले भने, ‘सबै अस्पताललाई व्यवस्थित गर्न नसक्दा धेरैले दुःख पाइरहेका छन्। 

अस्पतालसँगै जनताले उपचार पाउने पद्दतीमा सुधार गर्न जरुरी छ। सबै क्षेत्रमा सुधार गरौं भन्ने उद्देश्यसहित वीर अस्पतालदेखि प्राइभेट अस्पतालसम्मको अनुगमन गर्दै हिँडेको हुँ। भ्याली बाहिरको अस्पतालको अवस्था बुझौं भनेर अनुगमनमा आएको हुँ।’ कामै नगर्ने, विदामा बस्ने, सरुवा भएको ठाउँमा नजाने, आवश्यकता भन्दा बढी सामग्री किन्ने लगायतका प्रवृत्ति स्वास्थ्य क्षेत्रमा देखिएको जानकारी दिँदै उनले सबै मिलेर बेथितिको अन्त्यमा लाग्नुपर्नेमा जोड दिए। अस्पतालले दिने सेवाको विषयमा आम सर्वसाधारणले बुझ्ने गरी जानकारी गराउनुपर्ने उनको निर्देशन थियो। 

‘जनतालाई दिनुपर्ने सेवा बाहेक मलाई केही चाहिएको छैन। राम्रो गर्न केही कमी भए खबर पाउँ, आवश्यक सहयोगका लागि मन्त्रालय तयार छ’, बस्नेतले थपे। उनले अस्पतालको सेवाको विषयमा चासो लिँदै करिब एकघण्टा हेटौंडा अस्पतालको अनुगमन गर्दै विरामीसँग सोधपुछ समेत गरेका थिए। मन्त्री बस्नेतलाई सेवाग्राहीहरुले अस्पतालबाट पाउने विमाको औषधि समेत नपाएको गुनासो गरेका थिए। संघीय स्वास्थ्य मन्त्री अस्पतालमा आएको भन्ने थाहा पाएर सर्वसाधारणले अस्पतालले सुधार गर्नुपर्ने विषय र मन्त्रालयसँगको अपेक्षा राखेका थिए। हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेण्ट डा.रामचन्द्र सापकोटाले दैनिक १२ देखि १५ सय विरामीलाई सेवा पुर्‍याउँदै आएको जानकारी गराएका थिए। 

हेटौंडा अस्पताल नयाँ भवनमा आएसँगै धेरै समस्या समाधान हुँदै गएको जानकारी दिँदै उनले अझै सेवा विस्तारका लागि बजेट र जनशक्तिको अभाव रहेको बताएका थिए। मन्त्री बस्नेतले अस्पतालका मेसु सापकोटालाई आवश्यक सहयोगका लागि तयार रहेको बताउँदै अस्पतालको सेवा सुधार र सर्वसाधारणको स्वास्थ्यलाई ध्यान दिन निर्देशन दिएका थिए। मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि अनुगमनमा पुगेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८० १३:०८ बिहीबार

पैसा अभावमा कोही उपचारबाट बञ्चित नहोस् : मन्त्री बस्नेत