स्वास्थ्य

देशभर बढ्दै छ तापक्रम: गर्मीबाट कसरी जोगिने?

पछिल्ला दिनमा देशभरको अधिकतम तापक्रम बढिरहेको छ। अत्याधिक गर्मीका कारण तराईंको जनजीवन सबैभन्दा बढि प्रभावित भइरहेको छ। सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।

विशेषगरी तराईंका जिल्लाहरुमा पछिल्ला दिनमा अधिकतम तापक्रम ४०/४१ डिग्री सेल्सियमको हाराहारीमा भइरहेको छ। मौसमवीद्हरुले यो तापक्रम बढेर ४३ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिरहेका छन्।

अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरिसकेका छन्। तराईंका जिल्लाहरुमा तापक्रम बढेसँगै स्कुल बन्द हुने क्रम पनि सुरु भएको छ।

यसैबीच चिकित्सिकहरुले तापक्रम वृद्धिसँगै शरिरमा विभिन्न खालका स्वास्थ्य समस्या देखिने जानकारी दिएका छन्। त्यस्ता समस्याबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बढी तापक्रम बढ्यो भने थकाइ लाग्ने, कमजोरी हुने, तिर्खा बढि लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने लगायत समस्या हुन सक्छ।

पाटन अस्पतालका जनरल फिजिसियन (एमडीजीपी) डा.योगेन्द्र अमात्य पानीसंग सम्बन्धीत रोगहरु बढ्न सक्ने बताउँछन्। गर्मी बढेसंगै झाडापखाला, टाइफाइड, जन्डिस, हेपाटाइटिस ‘ए’ र ‘इ’ बढ्न सक्छ।

उनी भन्छन, ‘गर्मी धेरै मात्रामा बढीरहेको छ। यो अवस्थामा पानीसंग सम्बन्धित रोगहरु बढ्न सक्छन्। विशेषगरी झाडापखाला हुन सक्छ। त्यो पनि बालबालिकामा बढी देखिन सक्छ। त्यसैले खानेकुराको स्वच्छतामा ध्यान दिनुपर्छ।’

गर्मीको समयमा धेरै मात्रामा पानी पीउन उनी सुझाव दिन्छन्। शुद्धिकरण गरेको पानी धेरै मात्रामा पीउनुपर्ने डा. अमात्यको सुझाव छ। गर्मी भयो भनेर धेरै चिसो खानेकुराहरु खान नहुने उनले बताए।

‘धेरै गर्मी भयो भनेर हामी चिसो खानेकुरा धेरै खान्छौं। यो समयमा हामी बरफ धेरै खान्छौं, त्यसमा पनि पानी नै हुन्छ। तर त्यहाँ कस्तो पानी मिसिएको छ भन्ने हामी थाहा हुदैन्। फोहर पानी पर्‍यो भने त्यस्ता खानेकुरा खादा हाम्रो घाँटिमा समस्या ल्याउँछ। टन्सिल हुने समस्या हुन्छ’, डा.अमात्यले भने।

यो बाहेक डा. अमात्यका अन्य सुझावहरु यस्ता छन, ‘गर्मीबाट बच्न सेतो रङको कपडा लगाउने, बाहिर निस्कदा छाताको प्रयोग गर्ने जंक फुडको प्रयोग नगर्ने, ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने, अत्यावश्यक काम बाहेक दिउँसोको कडा घाममा बाहिर निस्कनु हुदैन।’

मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झा तापक्रम अझै बढ्न सक्ने चेतावनी दिन्छन्। ‘तापक्रम निरन्तर बढ्ने क्रममा रहेको छ। अझै केही दिन तापक्रम बढ्ने देखिन्छ। तापक्रम वृद्धि हुने क्रम दुई/तीन  दिन जारी रहने छ।,’ उनले भने।

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने उनको अनुमान छ।

‘तराईं क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्छ। यसरी नै गर्मी बढ्दै गए तातो हावा (लु) चल्ने सम्भावना पनि त्यत्तिकै छ’, झाले बिहीबार नागरिकन्यूजसँग भने। उनले लुले गर्दा जनजिवन कष्टकर हुने बताए।

अरेबियन सागरबाट आएको हावाको प्रभाव काठमाडौं र तराईं क्षेत्रमा नभएको र अहिले बगालको खाडिबाट पनि हावा नआएको हुँदा पानी पर्ने सम्भावना नरहेको उनले बताए।  

मौसमवीद झाका सुझाव भने यस्ता छन, ‘घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्नु पर्छ ।’ यस्तै, प्रशस्त मात्रामा पानी पिउन तथा पानीयुक्त फलफूलहरु खान, खेतबारीको काम बिहान र बेलुका मात्रै गर्न उनले सुझाव दिए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार(आज) सिमराको तापक्रम ४० दशमलव ८ डिग्री छ भने गत बुधबार ४१ दशमलव २ पुगेको थियो। त्यस्तै शुक्रबार जनकपुरको तापक्रम ४० डिग्री छ।

यसैगरी मधेस प्रदेशका जिल्ला, लुम्बिनी तथा सूदुर पश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अधिकृतम तापक्रम बढिरहेको छ। यी जिल्लाहरुका स्थानीय बढि सजक हुनुपर्ने चिकित्सक तथा मौमसवीद्हरुको सुझाव छ ।  

प्रकाशित: १९ जेष्ठ २०८० ०८:१२ शुक्रबार

गर्मी मौसमवीद् गोविन्द झा तातो हावा (लु)