स्वास्थ्य

पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने

नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।  

चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको ‘सिकोलिन’नामक खोप ल्याउने सम्झौता अनुरूप सो खोप ल्याउन लागिएको हो। खोप आयतको लागि नेपाल स्थित नन्दकेम ड्रग डिस्ट्रिब्युटर्सले लिएर स्वास्थ्य सेवा विभागलाई दिनेगरी प्रक्रिया अघि बढेको छ। २० हजार भाइलको खरिद मुल्य ९ करोड २८ लाख ४० हजार रूपैयाँ बराबरको रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा खरिद शाखाले जनएको छ। एचपिभीविरुद्ध (पपेपिलोमा भाइरसविरुद्धको खोप) पाठेघरको मुखको क्यान्सरविरुद्धको खोेप हो। यो खोप ९ वर्षमाथि र १४ वर्ष मुनिका बालबालिकालाई दिइन्छ। असुरक्षित यौन सम्पर्कबाट यो भाइरस संक्रमण भई पाठेघरको मुखको क्यान्सर हुन्छ। यो खोप लिएमा यो भाइरसको कारण हुने पाठेघरको मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ।  

हाल यो खोप विकसित देशहरूमा नियमित खोप कार्यक्रमअन्तर्गत समावेश भए पनि नेपालमा भने आंशिकरूपमा सुरु भइसकेको छ। खोप आइसकेपछि स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयको निर्णयअनुसार वितरण हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। अब आउने खोप नेपालमा रहेका सबै किशोरीलाई पुग्ने नभएपछि कुनै जिल्लाहरू छर्नौट गरी निःशुल्करूपमा वितरण गरिनेछ। अपुग किशोरीहरूको लागि आगामी योजनामार्फत दिने तयारी भएको डा. गौतमले बताए।  

अपुग खोप गाभीमार्फत आउने भएकोले कहिले कति आउँछ भन्ने विषयमा यकिन गर्न भने मुस्किल छ। डा. गौतमका अनुसार यो खोप उत्पादक कम र माग बढी भएकाले नेपालले सबैलाई पुग्नेगरी समयमै दिने सम्भवाना नरहेको देखिन्छ। गाभीले पनि तीनवटा कम्पनीले उत्पादन गरेको खोप मात्रा आपूर्ति गर्ने भएकाले विश्वभरि सँगै उपलब्ध गराउन सम्भव देखिँदैन। ‘गाभीले निश्चित नगरेसम्म हामीलाई पनि जानकारी दिँदैन, अहिलेसम्म जानकारी दिएको छैन,’ डा. गौतमले भने।  

यसअघि नेपालमा गाभी माफृत अनुदानमा आएको खोप सन् २०१४ मा नमूना खोप कार्यक्रमअन्तर्गत नेपालका दुईवटा जिल्लाका किशोरीलाई मात्र लगाएको थियो। किशोरीहरूमा एपिभीविरुद्धको खोप ८ वर्षपछि दिन लागेको हो। यो खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त रहेकोले पूर्णरूपमा सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। निजी क्षेत्रमा पनि यो डिस्टिब्युटर्स कम्पनीले आयत गरेकोले निजी क्लिनिकमार्फत प्रति भाइल ६ हजार २ सय ४० रूपैयाँ तोकिएको छ ।

प्रकाशित: २ जेष्ठ २०८० ०३:०२ मंगलबार

पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने