स्वास्थ्य

'नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'

'मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका ढक्ढकाउदै ए दिदि! हस्पिटलमा मेरो यो काम गराइदिनुस न! भन्थे, कहिले काहि त हिन्दि नजान्ने बिरामीलाइ सिमा पारी रक्सौलको डंकन हस्पिटल सम्म साथी बनेर गइदिन्थे।'

विगत ३७ वर्ष देखी नर्सिङ्ग पेशाबाट सेवा दिदै आएकि कृष्णा वर्मा आफ्नो अनुभव मिठो मुस्कानका साथ सुनाउँछिन्। हसिलो मिजाज र खुल्ला बिचारकी वर्मा ६१ वर्ष की भइन् तर उनको जोश जागर अझै १८ वर्ष कै युवाको झैं देखीन्छ। जो कोहि निराश व्यक्ति उनको छेउमा बसे उ हास्न बाध्य हुन्छ ‘यो पनि एउटा उपचार विधि नै हो’ हास्दै उनी भन्छिन् ।

वीरगंजको विर्तामा जन्मिएकी वर्मा आफ्नो आधा जति समय नारायणी अस्पतालमा आएका बिरामीको सेवा गर्दै बिताइन्। वि.स.०७९ माघ १८ गते उनी नारायणी अस्पतालबाट अवकास प्राप्त गरिन्। निरन्तर आफ्नो जिवनको ३७ वर्ष नर्सिङ्ग पेशालाइ समय दिएकी वर्मा त्याग र समर्पण कि एक उदहारणीय पात्र हुन्।

१७ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाधिएकी उनी २४ वर्षको हुदाँ श्रीमान बिते। ४ सन्तानकी आमा एकल भएपछि उनीमाथी पारीवारिक जिम्मेवारी थपियो। श्रीमान बित्दा उनी कक्षा ८ सम्म मात्र पढेकी थिइन्। छोराछोरीको जिम्मेवारी आफ्नो कांधमा थपिएपछि उनी फेरी पढाइलाई निरन्तरता दिने अठोट गरिन्। यसमा उनले जन्मदिने बुवाको भरपुर सहयोग पाएको सुनाउँछिन्।

'श्रीमान बितेपछि मैले माइस्थान बिद्या पिठमा कक्षा ९ र १० को पढाइ पुरा गरे। ०३९ सालमा एस.एल.सी.दिए। ०४१ सालमा म भरतपुर टे«निङ्ग सेन्टरबाट २ वर्षे नर्सिङ्ग कोर्स गरे,‘उनले भनीन् ‘त्यसबेला आमाबुवाले बच्चाको रेखदेख देखी आर्थीक सहयोग गरे।'

वर्मा नर्सिङ्गको पढाइ गर्न जादाँ उनकी कान्छि छोरी २ वर्षकी थिइन्। अहिले जस्तो उ बेला नर्सिङ्गको पढाइ सहज थिएन तर बच्चाको भविष्यको लागी जिवनमा धेरै कुराको त्याग गर्नुपर्छ उनले भनीन्। नर्सहरुको सेतो पहिरन र उनीहरुको सेवाभाव देखेर आफूलाई पनि यहि पेशा अपनाउने रहर जागेको उनले बताइन्। उनी बिरामीको सेवाबाट कहिल्यै थाकिनन्। अहिले रिटायर भएर पनि घर बस्नु भन्दा वृद्धवृद्धालाइ निःशुल्क सेवा दिने उनको सोच छ।  

नर्सिङ्ग पेशामा प्रवेश

वि.स.०४१ सालमा भरतपुर टे«निङ्ग सेन्टरबाट निस्किएपछि उनी पहिलो पटक अस्थायि नियुक्तिमा बारा जिल्लाको हर्दिया कवहि हेल्थ पोस्टमा जागिर खाइन्। २८ वर्षको उमेरमा मधेसको देहातमा एक्लै कोठा लिएर जागिर गर्नु सहज कुरा थिएन तर उनले आफ्नो साहसले जिवनका हरेक चुनौति पार गर्दै गइन्। ०४२ सालमा उनी नारायणी अस्पतालमा काजमा आइन। उनी आफ्नो पालामा नारायणी प्रसुति गृहको स्व.रानी एश्वर्यको हातबाट उद्धघाटन भएको सुनाउछिन्। त्यसबेला नारायणी अस्पतालमा जम्मा २२ जना नर्सहरु कार्यरत भएकाले उनलाई मेडिकल, सर्जिकल, आइसोलेसन, टिाटानस लगायत गाइनो हरेक वार्डमा ड्युटि अनुसार खट्नु पर्‍थ्यो।

पछि उनी लोक सेवाको परिक्षामा पास भएपछि ४ वर्ष राजविराजको हस्पिटलमा सेवा दिन पुगिन्। स्थायी जागिर भएपछि पर्सा जिल्लामा फेरी आउदा उनी लंङ्गडी हेल्थ पोस्टमा सेवा दिन थालिन्। केहि महिना पछि बच्चा सानो भएकाले सरुवा गराएर नारायणी अस्पतालमा आइन्। त्यसबेला देखी उनी निरन्तर नारायणी अस्पतालमा आउने बिरामीको हेरचार गर्न थालिन। कोभिडको समयमा पनि उनी निरन्तर ड्युटि मै थिइन्। उनले छैठौ तहमा अधिकृत तहमा १५ वर्ष काम गरिन। वरिष्ठ अधिकृत पदमा हुदाँ उनले ६० वर्षको उमेरमा अवकास लिइन।

३७ वर्षको जागीरमा उनले एउटा घर बनाउन सकिनन्। अहिले उनी नेपाल सरकारले दिएको नारायणी अस्पतालको क्वाटरमा छोरा बुहारीसँग बस्छिन्। ४ सय रुपैया देखी जागीरको सुरुवात गरेकि वर्मा अवकास लिदा ४९ हजार तलब थियो तर ४ जना छोराछोरीको जिम्मेवारी पढाइलेखाइले गर्दा अगल घर बनाउन नसकिएको बताइन्। जेठो छोरा अहिले औषधि पसल छ। वर्माका दुइ जना छोरी शिक्षिका र एक छोरा बाहिर बसेका छन्।

नर्सहरुको पनि आफ्नै समस्या हुने गरेको उनी बताउँछिन। नर्सले आफ्नो परिवार छोडेर रातदिन सेवामा दिइरहेका हुन्छन। यो पेशामा जुडेपछि जम्मा ३ महिनाको सुत्केरी बिदा पाइन्छ यस्तो बेलामा दुधे बालकलाइ छोडेर पनि बिरामीलाइ सेवा दिनु पर्छ।  

'पहिले जुन माहोल मा काम गर्‍यौ अब त्यो अवस्था छैन। त्यो बेला बिरामीलाइ औँषधि बाड्न जाँदा ‘देवी’ नै आएको जस्तो गर्ने। इज्जतका साथ कुरा गर्ने कुन औषधि खाउ के गरु भनेर सोध्थे। अहिले त खै पढेलेखेर धेरै जान्ने भएर होला अहिले त हाम्रो पेशालाइ दबाउन खोज्ने, यो मिलेन त्यो मिलेन उल्टै हाम्रो काममा बाधा पुर्‍याउन खोज्छन । हेपेर बोल्ने प्रवृति बढेको छ। उ बेला जस्तो मानसम्मान अहिले नर्सलाइ छैन।' 

पहिले जस्तो अहिले नर्सिङ्ग पेशामा सम्र्पणको भाव कमै देखीने गरेको उनले भनीन्। अब नर्सहरु विदेशतिर पलायन हुदैछन्। सेवा सुविधा र यहाँ भन्दा राम्रो पैसा कमाइ हुने भन्दै अहिले धेरै जसो नर्सहरु विदेशजाने गरेको उनले बताइन्।

‘मेरो मनमा कहिल्लै बिरामीको दिशा–पिसाब, रगत देखेर घिन भावना आएन। नर्सको सिकाईमै भनिन्छ बिरामीसँग घृणा गर्नु हुँदैन’, उनले भनिन्, ‘हरेक नर्सको व्यवहार समान नभए पनि बिरामीलाई आफ्नो जस्तै मानेर देखभाल गरे सेवा भावना आफैं गर्न मन हुन्छ।’

विश्व नर्सिङ्ग दिवसको सुभकामना दिदै उनले सेवाभावले यो पेशालाइ अपनाए नर्सिङ्ग पेशा सबैभन्दा आन्नदायक पेशा कुनै नभएको उनले बताइन्।  

प्रकाशित: २९ वैशाख २०८० ०७:२३ शुक्रबार

नर्सिङ्ग सेवा कृष्णा वर्मा