स्वास्थ्य

जुम्लामा ४ सय ८० बालबालिकाको हात्तीपाइले रोग परीक्षण

जुम्लाका ४ सय ८० जना विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गरिएको छ। ३२ सामुदायिक विद्यालयका ४ सय ८० जना बालबालिकाको रगत परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ देखिएको हो।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लामा हात्तीपाइले रोग भए नभएको पत्ता लगाउन नमुना परीक्षण गरिएको हो।

'३२ सामुदायिक विद्यालयका ४ सय ८० जना बालबालिकामा परीक्षण गर्ने लक्ष्य हो। लक्ष्य भन्दा पनि बढी बालबालिकालाई परीक्षण गरिएको छ,’ उनले भने, ‘परीक्षण गरिएका कुनै पनि बालबालिकामा हात्तीपाइले रोग देखिएको छैन। सबै जनाको रिपोर्ट नेगेटिभ नै आएको छ।'

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाभित्र ५ वटा सामुदायिक विद्यालयका ८० जना बालबालिकालाई हात्तीपाइले रोग परीक्षण गरिएको हो।

परीक्षण गरिएको कुनै पनि बालबालिकामा हात्तीपाइले रोग देखिएको छैन। नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत परीक्षण गरेको हो।

जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारणले उच्च हिमाली जिल्लाहरुमा तामक्रमको वृद्धि भएको र तापक्रमको वृद्धिका कारणले लामखुट्टेको जन्म हुन थालेपछि हिमाली जिल्लाहरुमा हात्तीपाइले, औलो र कालाजारका बिरामी भए नभएको नमुना परीक्षण गरिएको हो।

प्रकाशित: २१ वैशाख २०८० १४:४५ बिहीबार