किर्तिपुरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टर सामुदायिक अस्पताल हो। सरकारी जग्गामा बनेको अस्पतालको ४ वटा भवनहरु छन्। त्यसमध्ये एउटा भवनमा बर्नको उपचार हुने गर्दछ।
नेपाल क्लिफ एण्ड बर्न सेन्टरकी निर्देशक डा. निजिमा ताम्राकार सरकारबाट केहि पनि अनुदान नआएको र आन्तरिक श्रोतबाट मात्र अस्पताल चलिरहेको बताउँछिन्।
उनी भन्छिन्, ‘सरकारबाट त्यस्तो अनुदान भनेर हामीलाई आएको छैन्। अस्पतालमा बर्न मात्र नभएर अन्य जनरल उपचार पनि हुन्छ। त्यहा“बाट आएको आर्थिक श्रोतले बर्नको उपचार गर्छौ। त्यसले नपुगेर विभिन्न संघसंस्थाहरुसँग सहयोग माग्छौं। त्यहा“बाट हामीले उपचार गर्ने गर्छौ।’
सरकारले एसिडका बिरामीलाई उपचार गर्न केहि आर्थिक सहयोग गरेपनि अन्य जलनका उपचारमा भने सहयोग नभएको डा. ताम्राकारले बताइन्। अस्पतालमा जलनका बिरामीहरु अधिकांश निम्न आय भएका व्यक्तिहरु हुने र उनीहरुले उपचार खर्च तिर्न नसक्ने हुँदा उपचारमा समस्या हुने गरेको उनको भनाइ छ।
नेपाल क्लिफ एण्ड बर्न सेन्टरका जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीले भने, ‘सरकारले अस्पताललाई बजेट दिएको छैन्। अस्पतालकै आम्दानीबाट सञ्चालन गर्नुपर्ने अवस्था छ। त्यसका लागि उपचार गर्न आएका बिरामीहरुबाट केहि सेवा शुल्क लिनुपर्छ। तर अस्पतालमा आउने अधिकांश बिरामी शुल्क तिर्न सक्ने अवस्थाका हुँदैनन्।’
अस्पतालले स्वास्थ्य सेवा शुल्क लिएर उपचार गर्न समस्या भइरहेको उनले बताए। अस्पतालमा १०० बेड छ। त्यसमध्ये जलनका लागि २४ वटा जनरल बेड छन्। त्यस्तै ८ वटा आइसीयु बेडहरु छन् भने २ वटा अपरेशन थियटर छन्। यति मात्र अस्पतालमा पर्याप्त नभएको डा. नकर्मीले बताए। ‘यति पूर्वाधारले मात्र देशभरका गम्भिर बिरामीलाई कसरी उपचार गर्ने?’, उनले प्रश्न गरे।
विशेषगरी जाडोमा जलेका बिरामीहरु धेरै आउने हुँदा अन्य सेवाहरु पनि प्रभावित हुने उनको भनाइ छ।
‘वार्डमा बिरामीहरुलाई छुट्टाछुट्टै राख्न सक्दैनौं। सबैलाई एकै ठाउँमा राख्दा संक्रमण एकअर्कामा सर्ने सम्भावना रहन्छ। आइसीयुको पनि छुट्टाछुट्टै बेडहरु छैन् सबैलाई एउटै कोठामा राख्छौं त्यहाँ पनि संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले अहिले हामीले अस्पताल परिसरमा नै ५ तलाको १०० बेडको बर्न र प्लास्टिकको छुट्टै अस्पताल बनाउन लागेका छौं, त्यो बन्यो भने उपचारमा सहज हुन्छ’, डा. नकर्मीले भने।
अस्पतालमा वार्षिक रुपमा ६ सय भन्दा बढी भर्ना हुने बिरामीहरु आउने गरेका छन् भने ओपीडिमा आएर सेवा लिने धेरै छन्। ‘जलनका बिरामीहरुको उपचार गर्ने काम संवेदनशील हुन्छ। अधिकांस अस्पतालमा यो सुविधा छदा पनि छैन। केहीमा भएपनि तीनले यस्ता बिरामीको उपचार गर्न चाहदैन। त्यसैले यस्ता गम्भिर बिरामीहरुको चाप हाम्रो अस्पतालमा धेरै छ’, डा. ताम्राकारले भनिन्।
अहिले अस्पताल परिसरकै जग्गामा बर्न उपचारका लागि छुट्टै भवन निर्माणका लागि सरकारसँग प्रस्ताव गरेको उनको भनाइ छ। अस्पतालले बर्न उपचारका लागि ५ तल्लाको १ सय बेडको अस्पताल बनाउन प्रस्ताव गरेको छ।
नेपालमा जलनको सघन उपचार गर्ने आइसियुको सेवा दिन सक्ने विशेषज्ञहरु पनि नभएको डा. नकर्मीले बताएका छन्। जलनको विशेष तालिम नलिएका चिकित्सकहरुलाई जलनको आइसीयु हेर्न गाह्रो हुने उनले बताए। जनरल आइसीयु हेर्ने चिकित्सकले जलनको आइसीयु हेर्न नसक्ने डा. नकर्मीको भनाइ छ।
तिन वर्षको प्लाष्टिक सर्जरी पढेपछि जलन सम्बन्धी उपचार गर्ने विशेषज्ञ पढ्न पाइन्छ। अहिले बर्न सेन्टरले यो पढाइ अहिले सुरु गरेको छ।
उनले भने, ‘हाम्रो एक जना डाक्टरले अहिले पढ्दै हुनुहुन्छ। उहाँले ६ महिना तालिम गरिसक्नु भएको छ अब तीन वर्ष गर्नुपर्छ। उहाँलाई हामीले जलनको केशहरु कुन कुन देशमा बढी छन्। कस्ता प्रविधिबाट उपचार भइरहेका छन्,त्यस्तो देशहरुमा पठाउने छौं।’
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारी सेन्टरलाई मन्त्रालयबाट आर्थिक सहयोग गरिरहेको बताउँछन्।
अधिकारीले भने,'सेन्टरलाई मन्त्रालयबाट आर्थिक सहयोग गरिरहेका छौं। त्योसंगै केन्द्रलाई विभिन्न संघसंस्थाहरुले पनि आर्थिक सहयोग गरिरहनु भएको छ। संघसंस्थाको सहयोगका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ।'
अस्पताल भन्दा उपचार केन्द्र आवश्यक
डा. नकर्मीले अस्पताल भन्दा पनि प्राथमिक जलन उपचार केन्द्र आवश्यक भएको बताउँछन्। र्कितिपुर अस्पतालमा आउने बिरामीमध्ये ९२ प्रतिशत उपत्यका बाहिरबाट आउँछन्।
उनी भन्छन्, ‘नेपाल सरकारलाई अहिले एउटा मात्र जलनको अस्पताल सञ्चालन गर्न यति गाह्रो भएको छ भने सातै प्रदेशमा जलन विशेष अस्पताल बनाउनछु भन्नु मुर्खता मात्रै हो। त्यो सम्भव छैन्। अस्पताल मात्रै भएर हुँदैन्, त्यहि अनुसारको संरचना, चिकित्सकको टिम, उपकरणहरु चाहिन्छ।’
किर्तिपुर अस्पतालको विकल्पमा उपत्यका बाहिर धेरै ठाउँमा प्राथमिक जलन उपचार केन्द्र बनाउन सकिने उनको भनाइ छ। त्यस्ता केन्द्रहरुबाट जलन भएको सुरुमा गरिने प्राथमिक उपचार र पुर्नजलिय उपचार मात्रै गर्न सकियो भने पनि बिरामीहरु जटिल अवस्थामा जानबाट रोक्न सकिने उनले बताए।
जलन हुने बित्तिकै बिरामीले कस्तो प्राथमिक उपचार पायो भन्ने कुराले नी ठूलो अर्थ लाग्ने डा. नकर्मीको भनाइ छ।
प्राथमिक उपचारमा जलन हुने बित्तिकै हामीले बगिरहेको पानीले आधा घण्टासम्म घाउ धुने हो भने त्यो घा“उ गहिरो हुन पाउदैन। घाँउ गहिरो नहुने बित्तिकै अपरेशन नगरिकन नै मलम पट्टी लगाएर घाउ निको पार्न सकिने उनले बताए।
डा. नकर्मीका अनुसार जलनमा बिरामीको सुरुको २४ घण्टामा पुर्नजलिय उपचार गर्नुपर्छ उक्त उपचार बिरामीलाई पर्याप्त पुगेको हुँदैन्। कुनै पनि बिरामीको १५ प्रतिशत भन्दा बढी जीउमा पोलेको अवस्थामा पोलेको भन्दा अन्य अंगमा पनि धेरै असर गर्छ।
१५ प्रतिशत भन्दा बढी जलेको अवस्थामा गम्भिर जलन भनिन्छ। अन्य अंगमा पनि असर पुर्याउने हुँदा गम्भिर जलन भनिएको हो। त्यस्ता बिरामीलाई सुरुको २४ घन्टामा सकिए सलाइन पानी र जिवन जल धेरै मात्रामा खुवाउनु पर्ने उनी बताउँछन्। त्यसले अन्य अंगहरुमा क्षति हुन दिदैन।
त्यस्ता केन्द्रहरु खोलेर र चिकित्सकहरुलाई प्राथमिक उपचार र पुर्नजलिय उपचारको तालिम दिने हो भने सामान्य जलन भएको बिरामीहरु काठमाडौंसम्म आउनुपर्ने बाध्यता हट्ने उनले बताए।
प्रकाशित: १८ फाल्गुन २०७९ १३:५५ बिहीबार