स्वास्थ्य

डेंगे अझै नियन्त्रण बाहिर

झापा– असोज तेस्रो सातादेखि दमक क्षेत्रमा देखापरेको डेंगेको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । दमक आसपासका लखनपुर, पाँचगाछीलगायत क्षेत्रमा पनि फाट्टफुट्ट डेंगे संक्रमित फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा संक्रमित फेला पर्ने क्रम जारी छ भने शुक्रबार थप आठ संक्रमित फेला परेका छन् । यसपटक डेंगे संक्रमितहरूमा अधिकांश १५ वर्षभन्दा माथिका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । ‘जो घरबाहिर निस्केर काममा, स्कुल–कलेज जान्छन्, उनीहरूमा बढी संक्रमण देखिएको छ,’ जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले भने, ‘घरैमा बसिरहने बालबालिका, वृद्धवृद्धा वा गृहिणीमा संक्रमण थोरै छ ।’

असोज २४ मा  दुई जनामा डेंगे संक्रमण देखापरेको थियो, शुक्रबारसम्म एक सय ३१ जनामा डेंगे संक्रमण पुष्टि भएको छ

डेंगे संक्रमित देखिन थालेसँगै सतर्कता अपनाएकाले एकैपटक धेरै संक्रमित हुने क्रम घटेको पाइएको छ । आफूले जानेकै सतर्कताको उपाय अपनाउन सर्वसाधारण चुक्दा र सरकारले बेलैमा सतर्कता नदेखाउँदा यसपटक दमकमा डेंगेले धेरै सर्वसाधारणलाई दुःख दिएको विज्ञको भनाइ छ ।

गएको असोज २४ मा  दुई जनामा डेंगे संक्रमण देखापरेको थियो । कात्तिक दोस्रो सातासम्म आइपुग्दा भने यो प्रकोपकै रूपमै देखिएको छ । शुक्रबारसम्म एक सय ३१ जनामा डेंगे संक्रमण पुष्टि भएको छ । सुरुका दिनका तुलनामा अहिले दमकमा डेंगे संक्रमण घट्दै गएको तर पूर्णरूपमा नियन्त्रण हुन समय लाग्ने जनस्वास्थ्य  कार्यालय झापाका भेक्टर कन्ट्रोल सुपरभाइजर जीवन चौलागाईंले जानकारी दिए । एकै दिन ४० जनाभन्दा बढीमा संक्रमण देखिने क्रम घटेर अहिले ८ देखि १० जनामा सीमित छ । यसलाई जनस्वास्थ्यले ‘नियन्त्रण उन्मुख’ बनेको ठानेको छ ।

डेंगे संक्रमण बढेपछि अनुगमन तथा नियन्त्रण प्रयासका लागि स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुगमन टोली झापा आइपुगेको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा नियन्त्रणका प्रयासबारे स्थानीयसँग छलफल गर्नुका साथै रोगबारे सचेत गराएको चौलागाईंले जानकारी दिए ।

विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा यस्तो संक्रमण देखिएपछि महाशाखाको टोली झापा आएको हो । टोलीले लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कामलाई तीव्रता दिएको छ । ‘विशेषज्ञसहित अन्य स्वास्थ्यकर्मीको टोली लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानमा सक्रिय रहेको छ,’ चौलागाईंले भने ।
डेंगे नियन्त्रणमा टोलीसहित सर्वसाधारण लागेका कारण डेंगु संक्रमण दर अघिल्ला दिनभन्दा घट्दै गएको जनस्वास्थ्य कार्यालयको दाबी छ । टोलीले स्थानीयको घरमा जमेको पानी नष्ट गर्न सुझाव समेत दिएको छ । विज्ञका अनुसार घर सरसफाइमा मात्रै ध्यान दिँदा पनि डेंगे संक्रमणको जोखिम आधा कम हुन्छ ।

यस क्षेत्रमा संक्रमण बढेपछि सरकारले दमक अस्पतालमा पहिलोपटक डेंगेको निःशुल्क रगत परीक्षण थालेको छ । परीक्षणपछि अस्पतालमा बिरामीको चाप छ । रोग नियन्त्रण महाशाखाले कीट उपलब्ध गराएपछि परीक्षण सुरु गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । दमक नगरपालिका– १०, ११ , १२, १३ र १४ वडामा सबैभन्दा बढी डेंगेका बिरामी छन् । यी सबै वडा दमकको बजार क्षेत्रमा पर्छन् । यसअघि मेची अञ्चल अस्पताल भद्रपुर र काँकडभिट्टा स्वास्थ्यचौकीमा डेंगेको परीक्षण हुँदै आएको थियो ।

अन्य स्वास्थ्य केन्द्रमा शंकास्पद डेंगेका रोगी फेलापरे तत्काल जनस्वास्थ्यले कीट उपलब्ध गराएर परीक्षण हुने गरेको थियो । यसअघिका डेंगे संक्रमितको स्वास्थ्यमा समेत सुधार आएको छ । प्रायः सबैको प्लेटलेटको मात्रा एक लाखभन्दा बढी पुगेकाले उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकको भनाइ छ । डेंगे संक्रमितहरूमा रगतको प्लेटलेट घट्ने समस्या धेरै हुन्छ । त्यही कारण आन्तरिक रक्तश्रावको जोखिमसमेत उच्च हुन्छ । उच्च ज्वरो, टाउको दुख्ने लगायत लक्षण देखिए पारासिटामोलबाहेक अन्य औषधि प्रयोग नगरी चिकित्सकलाई भेट्न विज्ञले सर्वसाधारणलाई सुझाएका छन् ।

प्रकाशित: १४ कार्तिक २०७३ ०३:११ आइतबार

डेंगे नियन्त्रण