स्वास्थ्य

‘हात्तिपाइले’ निवारण अभियान असफल, दोष जति नागरिकलाई

आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइदै

सरकारले दुई दशक अघिबाट सुरु गरेको ‘हात्तिपाइले’ रोग अभियान असफल भएको छ। विगतको अभियान असफल भएपछि सरकारले बिहीबार (आज)देखि १५ जिल्लामा फेरी हात्तिपाइले विरुद्धको औषधी खुवाउने अभियान थालेको छ। यो अभियान फागुन २५ गतेसम्म चल्ने छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, मोरङ, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके र कैलालीमा औषधि खुवाउन लागिएको हो।  

रसुवामा पहिलो पटक हात्तिपाइले विरुद्धको औषधि खुवाउन लागिएको हो भने अन्य जिल्लामा पटक/पटक औषधि खुवाइसकेको महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार यी १४ जिल्लामा औषधि खान योग्य सबै सर्वसाधारणले औषधि नखाइदिनाले र हरेक दुई/दुई वर्षमा रगत जाँच गरेर हेर्दा रोगको दर अपेक्षाकृत रुपमा नघटेपछि औषधि खुवाउनु परेको हो।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दास सर्वसाधरणले हात्तिपाइलेको औषधि नखाइदिदा निवारण गर्न गाह्रो भएको बताउँछन्। उनी भन्छन्, ‘नेपालमा सन २००३ देखि हात्तिपाइलेविरुद्धको औषधि खुवाइरहेका छौं। तर सर्वसाधरणहरुले औषधी नखाइदिदा निवारण गर्न समस्या भइरहेको छ।’

डा. दासका अनुसार पहिला/पहिला स्वास्थ्यकर्मीहरु औषधि खानुस है भनेर दिएर हिड्थे । तर अहिले विरामीलाई औषधि खुवाएर मात्र हिड्नका लागि स्वास्थ्यकर्मीलाई भनिएको छ । ‘हामीले यो वर्ष र अब आउने वर्षमात्र हात्तिपाइलेको औषधि खुवाउछौं। त्यसपछि त्यसको परिणाम कस्तो आउछ भनेर हेछौ’, उनले भने ।  

सरकारले सन् २००३ देखि हात्तिपाइलेविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गरेको थियो। सन् २००३ देखि २०२० सम्ममा हात्तिपाइले निवारण गर्न लागिपरेको सरकारले अन्तत निवारण गर्न सकेन्। र अहिले सरकारले सन् २०३० सम्म हात्तिपाइले निवारण गर्ने लक्ष्य राखेको छ।  

हात्तिपाइले निवारण गर्नका लागि सरकारले उच्चस्तरीय जनचेतनाको अभ्यास गर्ने, क्रियाकलापहरुको कार्यान्वयन परिवर्तन गर्ने, पहुँच नभएको स्थानहरुमा विशेष कार्यक्रम गर्ने, कार्यान्वयन अवधिको दैनिक जुम मिटिङ्गबाट अनुगमन, छलफल र पृष्ठपोषण लिने, जिल्लाहरुको रणनैतिक स्थानहरुमा सहयोगी, सुपरभाइजर, अनुगमनकर्ता र परामर्शकर्ताहरु खटाइने, बैज्ञानिक तरिकाले जिल्लामा उत्कृष्ट पालिका छान्ने र कार्यक्रमलाई तीन तह तरिकाबाट मुंल्याकन गर्ने रणनीति बनाएको छ।  

नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकेको महाशाखाले जनाएको छ। प्रत्येक वर्ष हात्तिपाइलेविरुद्धको अभियानमा १ अर्ब लगानी गर्दै आइरहेको छ।  

तर सरकारले अहिलेसम्म हात्तिपाइलेका विरामीको देशभरीको तथ्याङ भने सार्वजनिक गर्न सकेको छैन। सरकारले ४० जिल्लामा ३० हजार भन्दा बढि बिरामी भएको जनाएको छ। तर देशभरका बिरामीको तथ्याङ नभएको जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००० सम्म हात्तिपाइलेबाट १२ करोड मानिस संक्रमित भइसकेका छन् भने ४ करोड मानिस अंगभंग भएका छन्। २०२१ मा यो संक्रमणदर दर ७४ प्रतिशतले घटेर ५ करोड १४ लाख मानिसहरु संक्रमित छन्।

विश्वका ७२ मध्ये २८ संक्रमित देशहरुले आम औषधि सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन्। हाल ८५ दशमलव ९ करोड मानिस हात्तिपाइले रोगको जोखिममा छन्।

हातीपाइले रोग मानिसलाई शारिरीक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिविले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरिरमा यो परजीवि प्रवेश गरेको केहि वर्षपछि मात्र यसका असरहरु (जस्तै हात्तिपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ। यसका लक्षण देखिसकेपछि निको पार्न सकिंदैन्। धेरैजसो संक्रमण लक्षण बिनाका हुन्छन जसबाट समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना रहन्छ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त विरामीहरुले खान हुँदैन्। सिकिस्त विरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डाइलासिस जस्ता जीवन भर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु बुझनुपर्छ।

यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। त्यसो भएका औषधिले प्रभावकारी रुपमा काम गर्दैछ भन्ने बुझनुपर्ने चिकित्सकहरुको भनाइ छ। ती लक्षणहरु भने केहि समयमै हराएर जान्छन्। केही गरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नका लागि चिकित्सकको सुझाव छ।  

प्रकाशित: ११ फाल्गुन २०७९ १३:५९ बिहीबार

हात्तिपाइले