स्वास्थ्य

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग

अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलबार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति माग गरेका हुन्।

सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पु¥याएका थिए। उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो।

अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पु¥याएका थिए। त्यहाँ पु¥याएको दुई घण्टा पनि नवित्दै प्रशंशाको मृत्यु भएको थियो। हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाई छ। उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए। पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाईसेन्स छानवीन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन्।  

गौतमले सो अस्पतालमा छोरी प्रशंशाको परीक्षण गराएका थिए। तर अस्पतालले आफूहरुको आग्रहमा पाँचौ दिन एक्स रे गरेर हेर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि कान्तिबाल अस्पतालमा रिफ्र गर्न भनेको थियो। चिकित्सक यादवले पिआईसियू नभएको भन्दै कान्तिबाल अस्पतालमा रिफ्र गरेका थिए। तर रिफर गरिएको लेटरमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर समेत नगरेर लापरबाही गरेको पीडित गौतमको दुखेसो थियो।

पीडित गौतमले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन्। त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन्। गौतम दम्पत्तिको आग्रह छ–‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानवीन गरी कारबाही गरियोस्।’ प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित गौतमले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन्। उनले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए। फागुन १० गते (भोली) पीडित पक्षले हिमाल अस्पतालको व्यवस्थापनसँग सो विषयमा कुरा गर्ने तयारी गरेका छन्।  

प्रकाशित: ९ फाल्गुन २०७९ ११:१२ मंगलबार

हिमाल अस्पताल