स्वास्थ्य

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ: प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको संकल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

'अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन', उनले भने, 'यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ।'

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका कामलाई अगाडि बढाउन निर्देशन दिए।

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान तथा चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए।

उनले भने, 'सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीको चुस्तदुरुस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेसागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरुपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमी रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचार हाम्रा लागि गम्भीर विषय हुन्, यस्ता बेथितिमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ।'

प्रतिष्ठानबाट यस क्षेत्रमा थप परिस्करणसहित निरन्तरताको अपेक्षा गर्दै सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।  

प्रकाशित: ५ फाल्गुन २०७९ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App