कोरोना विरुद्धको खोजको बुष्टरडोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुष्टरडोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।
स्वास्थ्य कार्यालयका कोल्डचेन सुपरभाईजर दिनेश रायले बुष्टरडोज लगाउनेको मात्रा ज्यादै कम भएकोले खोपको पहिलो र दोस्रो मात्र लगाईसकेकालाई बुष्टरडोज लगाउन प्रेरित गर्नुपर्ने अवस्था आएको बताए।
कोरोनाबाट सुरक्षित हुने र जोखिम कम हुने एकमात्र उपाय खोप हो,खोपको बुष्टरडोजले मात्र जोखिम कम बनाउँछ रायले भने। उनले खोपको पहिलो र दोस्रो डोज लगाउनेको संख्या अपेक्षा अनुसार रहेपनि बुष्टरडोज लगाउन छुटेकाको संख्या धेरै रहेको जानकारी दिए।
उनले बुष्टरडोज लगाउन प्रेरित गर्ने सबैभन्दा गतिलो माध्यम स्थानीय जनप्रतिनिधि भएकोले स्थानीय तहले बिशेष योजना बनाएरै बुष्टरडोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष सुनाए। रायका अनुसार फुङलिङ नगरपालिका क्षेत्रभित्र मात्रै करिव २१ हजार जनाले बुष्टरडोज लगाउन बाँकी देखिएको छ।
जिल्लाभरीमा करिव ५५ हजार हाराहारीले बुष्टरडोज लगाउन बाँकी रहेको देखिएको उनले जानकारी दिए। ताप्लेजुङ भरीमा सबै किसिमका खोपको पहिलो मात्रा लगाउनको संख्या ९९ हजार १ सय ७८ रहेको छ। १ लाख ५ हजार ८ सय ५६ जनाले खोपको दोस्रो मात्र लगाएका छन्। बुष्टरडोज लगाउनको संख्या १९ हजार ४ सय ८७ जना मात्र देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
पहिलो मात्रा अन्यत्र लगाएर यहाँ आएकाहरुले दोस्रो मात्रा ताप्लेजुङमै लगाएका कारण पहिलो र दोस्रो मात्राको तथ्याङ्क यस्तो देखिएको रायले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार १९ हजार ९ सय ७९ जनाले अनुसार कोभिशिल्डको पहिलो र ११ हजार १ सय ८२ जनाले दोस्रो मात्रा लगाएका छन्। कोभिशिल्डको बुष्टरडोज लगाउनको संख्या ७ हजार १ सय ९४ रहेको छ।
यस्तै ४० हजार ६ सय ६२ जनाले भेरोसेलको पहिलो तथा ४० हजार ६ सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन्। १० हजार ९ सय ९८ जनाले जोनसन एण्ड जोनसोनको पहिलो मात्रा तथा ४ सय ३३ जनाले बुष्टरडोज लगाएका छन्। एक्सट्राजेनेकाको पहिलो मात्रा ८ सय ६ सय ७७ जनाले लगाउँदा दोस्रो मात्रा सो भन्दा दोब्बर बढी अर्थात् १७ हजार ६ सय १६ जनाले लगाएका छन्। ८ हजार ५ सय ७० जनाले एक्सट्राजेनेकाको बुष्टरडोज लगाएका छन्।
१२ वर्ष भन्दा माथिको उमेर समूहले लगाउने फाइजर खोपको पहिलो मात्रा २१ हजार ९ सय १४ जनाले लगाएका छन् भने दोस्रो मात्र २० हजार ३ सय ७१ जनाले लगाउँदा १ हजार १ सय २० जनाले मात्र फाइजर खोपको बुष्टरडोज लगाएका छन्। १२ दखि १८ वर्ष बीचको उमेर समूहले लगाउने मोर्डना खोपको पहिलो मात्रा ११ हजार २ सय ३९ जनाले लगाउँदा ८ हजार २ सय ३१ जनाले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ।
मोर्डनाको बुष्टरडोज २ हजार १ सय ७० जनाले मात्र लगाएका छन्। ५ देखि ११ वर्ष उमेर समूहको लगाउने फाइजर खोपको पहिलो मात्रा १५ हजार २ सय २८ जनाले लगाएका छन् भने १३ हजार ८ सय १७ जनाले दोस्रो डोज लगाएका छन्।
प्रकाशित: ३ फाल्गुन २०७९ ०८:३८ बुधबार