स्वास्थ्य

स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम

जुम्लाको सदरमुकाम खलंगामा नागरिक आरोग्य कार्यक्रमअन्तर्गत जिल्ला अभिमुखीकरण कार्यक्रम सकिएको छ। जिल्लास्थित जनप्रतिनिधि र सरोकारवाला निकायलाई नागरिक आरोग्य कार्यक्रमबारे अवगत गराउन आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरेको छ। स्वस्थ जीवनशैली, आयुर्वेद र योग, स्थानीयस्तरमा पाइने जडिबुटीका विषयमा सहजीकरण गरिएको थियो। ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रम कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेतको आयोजनामा सञ्चालन गरिएको थियो।

कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेत फोकल पर्सन पुष्पा आचार्यले नागरिक आरोग्य कार्यक्रमको परिचय, उद्देश्य औचित्यका बारेमा विस्तृत जानकारी गराएकी थिइन्। उनले कार्यक्रममा आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वास्थ्यमा पार्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने विषयमा सुसूचित गराएकी थिइन्।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका डा. प्रतिभा शर्माले समुदायस्तरमा समेत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा प्रयोग र खानपानका विषयमा जानकारी गराउन आवश्यक भएको बताइन्। उनले नियमित रूपमा योग र ध्यान गर्न पनि सुझाइन्। उनले समुदाय स्तरमा यस्ता कार्यक्रम आवश्यक भए पनि कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइन्। जुम्लामा पाइने स्थानीय जडीबुटी पहिचान गरी उपयोग गर्न पनि उनले अपिल गरिन्।

जिल्ला समन्यव समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा मानिस खान नजानेर अस्वस्थकर बन्दै गएको बताए। उनले हरेक नागरिकले शारीरिक व्यायामसँगै खानपानमा समेत ध्यान दिनुपर्ने धारणा राखे। गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले नागरिक आरोग्य कार्यक्रम मानिसको जीवन दैनिकीसँग जोडिएको महत्वपूर्ण कार्यक्रम रहेको बताए। यो कार्यक्रमलाई निरन्तरता दिन आफू सकारात्मक रहेको उनले बताए।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्लाका सबै पालिका, वडा र टोलटोलमा आरोग्य कार्यक्रम पुर्‍याइने बताए। ‘रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ’, उनल भने, ‘अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ। आधुनिकता नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा बर्सेनि नसर्ने रोगीको संख्या बढ्दै गएको पाइन्छ। नागरिकलाई सही बाटोमा ल्याउन झक्झक्याउनका लागि नागरिक आरोग्य कार्यक्रम ल्याइएको हो।’  

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेले धन्वन्तरीको समयदेखि सुरु भएको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पालना गर्नुपर्ने र सबैले स्वस्थकर जीवनयापन गर्दै आयुर्वेदको विकासमा सहयोग गर्नुपर्ने बताए।

यी कार्यक्रम वडास्तरमा सञ्चालन हुनुपर्ने उनले बताए। कार्यक्रममा पातारासी, कनकासुन्दरी गाउँपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, स्वास्थ्यकर्मी र पत्रकारको उपस्थिति थियो।

प्रकाशित: २४ माघ २०७९ ०१:५० मंगलबार