स्वास्थ्य

अभिनेता निश्चल भन्छन्: शिक्षण अस्पतालमा ह्वल चियर प्रयोग गर्न १ हजार धरौटी

अभिनेता निश्चल बस्नेतले बिहीबार सामाजिक सञ्जालमा एउटा स्टाटस राखे। बस्नेतले शिक्षण अस्पताल महाराजगञ्जले ह्वल चियर प्रयोग गर्दा १ हजार डिपोजिट राख्नुपर्ने बताउँदै अशक्त बिरामीको लागि अस्पतालले सेवा दिनुपर्ने होइन र भन्दै प्रश्न गरेका छन्।

बस्नेतले आफूले किन डिपोजिट लिएको भनी सुरक्षा गार्डलाई सोध्दा ह्वल चियरको सुरक्षाको लागि भन्ने जवाफ पाएको बताएका छन्।

उनले भनेका छन्,‘१ हजार बोकेर निम्न आएका अशक्त बिरामीले डिपोजिट तिर्ने की उपचार गराउने? की बोकेर हिड्नुपर्ने हो? सरकारी अस्पताल सुविधासम्पन्न हुनु पर्दछ, व्यावहारिक पनि हुनु पर्दछ। कृपया सरकारी अस्पताल लाई राम्रो र सेवामुलक बनाउन जोड लगाउनु होस्।’

अस्पतालमा प्रयोग भएका ह्वल चियरहरु पनि बिग्रीएको र पुरानो भएको उनले बताएका छन्। अस्पतालले सेवाग्राहीलाई सेवा दिनुपर्ने ठाउँमा उल्टो झन्झट दिएको उनको भनाइ छ। अस्पतालका कर्मचारीहरुको व्यवहार पनि राम्रो नभएको बस्नेत बताउँछन्। अन्य अस्पतालमा यस्तो नियम नभएको र शिक्षण अस्पतालमा मात्र यस्तो नियम भएको उनले बताए।

यता शिक्षण अस्पतालका निर्देशक डा.दिनेश काफ्ले ह्वल चियर प्रयोगमा डिपोजिट राख्ने नियम राख्नु अस्पतालको बाध्यता रहेको बताउँछन्। ‘अस्पतालको ह्वल चियरहरु बिरामीले नै बोकेर जान थाल्नु भयो। बिरामी गाडीमा राख्नका लागि ह्वल चियर लिएर जानुहुन्छ। कतिले आफ्नै गाडीमा हालेर जानुहुन्छ कतिले बाहिर नै छाड्नुहुन्छ। बिरामीहरुको पछि लागेर सुरक्षा गार्डहरु जाने कुरा पनि भएन्। त्यसले गर्दा अस्पतालले १ हजार डिपोजिट राख्न लाउने र पछि ह्वल चियर ल्याएपछि १ हजार र्फिता दिने गरेका छौं।’

अस्पतालले यसअघि ह्वल चियर प्रयोग गर्दा नागरिकता राख्ने गरेको तर नागरिकता लिन नआउने समस्या भएपछि १ हजार डिपोजिट राख्न लागेको उनले बताए।

डिपोजिट राख्न नसक्ने व्यक्तिहरु आएमा अस्पतालकै सुरक्षा गार्डले लाने साथै उनीहरुको लागि स्वयमसेवकको पनि व्यवस्था गरेको काफ्लेको भनाइ छ।  ‘ह्वल चियर थोरैले प्रयोग गर्नुहुन्छ यदि डिपोजिट राख्न नसक्ने व्यक्तिहरु आएमा त्यहाको सुरक्षागार्ड,स्वयमसेवकहरुले सहयोग गर्नुहुन्छ, त्यो बाहेक हामीले अस्पताल परिसरमा इलेक्ट्रीक ट्रली गाडीहरुको पनि व्यवस्था गरेका छौं।’ उनले भने,‘सुरक्षा अस्पतालले दिने हो। तर कतिपय कुराहरु सर्वसाधरणले पनि बुझनुपर्छ। अब अस्पतालका धाराहरुको टुटी सबै हराएको छ। कसलाई लगिस भन्ने। ह्वल चियर पनि धेरै हराएर हो हामीले यो डिपोजिट गर्न थालेको यो भन्दा अर्को राम्रो उपाय छ भने हामीलाई सुझाव दिनुहोला,’ उनले भने।

सार्वजनिक सम्पतिको सुरक्षाको लागि अस्पतालले डिपोजिट सुरु गरेको उनको भनाइ छ। उनले भने,‘अस्पतालमा दैनिक १७ हजार बराबर व्यक्तिहरु आउँनुहुन्छ। धेरै थरीका व्यक्तिहरु आइरहेका हुन्छन्। अस्पतालका सामग्रीहरु हराए सार्वजनीक सम्पती हराउने हो। तर प्रयोग त गर्नुनै पर्यो। अस्पताललाई लाई नी ह्वल चियर सहयोगमा आउने हो। हराउदा प्रयोग गर्नै खाचो हुन्छ।’

अस्पतालमा आउने सबै सेवाग्राहीहरुले सार्वजनीक सम्पतीलाई पनि माया गर्नुपर्ने काफ्ले बताउँछन्।  

प्रकाशित: १२ माघ २०७९ १३:२१ बिहीबार

अभिनेता निश्चल बस्नेत शिक्षण अस्पताल महाराजगञ्ज डा.दिनेश काफ्ले