स्वास्थ्य

बाँकेमा दादुरा संक्रमितको संख्या २९४

 बाँकेमा दादुरा संक्रमितको संख्या २ सय ९४ पुगेको छ। हरेक दिन दादुराका नयाँ बिरामी फेला परिरहेका छन्। मंगलबार थप सातजना नयाँ बिरामी फेला परेका छन्। यद्यपि खोप अभियान भइसकेका ठाउँमा नयाँ बिरामी फेला पर्ने क्रम केही कम भएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।  

अहिले जिल्लाका नेपालगन्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाका ३० वटा वडामा दादुरा फैलिएको छ। सबैभन्दा धेरै संक्रमित नेपालगन्ज र त्यसपछि नरैनापुर गाउँपालिकामा फेला परेका छन्। ६५ जनाभन्दा बढी सक्रिय संक्रमित छन्। एकजना दादुरा संक्रमितले १२ देखि १८ जनासम्मलाई सार्न सक्ने जोखिम रहन्छ। जिल्लामा चलिरहेको दादुराविरुद्धको खोप अभियानमा लक्ष्यको ८१ प्रतिशतलाई खोप लगाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन्। यो समाचार तयार पार्दासम्म ७९ हजार ९ सय ३५ जना बालबालिकालाई खोप लगाइएको उनले उल्लेख गरे।

 नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यभन्दा बढी खोप लगाइसकिएको छ। उपमहानगरपालिकाका दादुरा फोकल पर्सन जागेश्वर बस्नेतका अनुसार अभियानमा ४५ हजार दुई सय ३० जनाअर्थात् १०५ दशमलव २४ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। उनले अब करिब एक हजार आठ सय ७६ जनालाई खोप लगाउन बाँकी देखिएको र ती बालबालिका छुटफुट भएका र खोपको पहुँचमा अभिभावकले ल्याउन नचाहेको बताए। त्यस्ता बालबालिकालाई कसरी पहुँचमा ल्याउने भन्ने विषयमा रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ।  

कोहलपुरमा आजदेखि खोप

कोहलपुर नगरपालिकामा आज (बुधबार)देखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदै छ। दादुरा प्रभावित वडाहरूबाट खोप अभियान सुरु गर्न लागिएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए। कोहलपुर नगरपालिकामा हालसम्म ६ जना बालबालिकामा दादुरा देखिएको छ। वडा नम्बर २, ११ र १४ का बालबालिकामा दादुरा देखिएकाले तिनै वडाहरूबाट खोप अभियान सुरु गर्न लागिएको ठकुरीको भनाइ छ। 

प्रकाशित: ११ माघ २०७९ ०२:१२ बुधबार