बालबालिकामा मुटुको प्वाल जन्मजात हुनेगर्छ। जन्मदै मुटुमा देखिने रोगलाई ‘जन्मजात मुटुरोग’ भन्ने गरिन्छ। बालबालिकामा देखिने मुटुरोगहरुमध्ये धेरैमा मुटुमा प्वालको समस्या देखिन्छ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी अनुसार मुटुमा विभिन्न प्रकारका प्वालहरु हुने गर्छन्। मुटुको माथिल्लो कोठामा हुने प्वाल, मुटुको तल्लो कोठामा हुने प्वाल र मुटुबाट फोक्सोमा जाने धमनी, मुटुबाट शरीरमा जाने धमनीको बीचमा हुने प्वाल हुन्छन्।
मुटुमा हुने प्वालको समस्या यहि समयमा देखिन्छ भन्ने कुनै आधार नभएको डा. अधिकारी बताउँछन्। ‘यो समस्या यहि समयमा देखिन्छ भन्ने हुँदैन। हाम्रोमा धेरैजसो जाँच गर्न आउने भन्ने हुँदैन। समस्या देखिएपछि मात्र जाँच गर्न आउनुहुन्छ। त्यसपछि मात्र थाहा हुन्छ। हामीले ७२ वर्षको व्यक्तिको समेत मुटुको प्वालको अपरेसन गरेका छौं’, उनले भने।
नेपालमा मुटुमा हुने प्वालको उपचार पहिला चिरफारबाट हुने गर्दथ्र्यो। धेरैजसो छातिबाट चिरेर यसको उपचार गर्ने गरेको अधिकारीले बताए। उक्त उपचार विधिलाई विस्थापित गर्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले अहिले ‘ट्रान्स क्याथेटर डिभाइस क्लोजर’ प्रविधिलाई कार्यन्वयनमा ल्याएको छ।
शल्यक्रिया विना नसाबाट तार छिराएर समस्या ग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धतिलाई ‘ट्रान्स क्याथेटर डिभाइस क्लोजर’ भनिन्छ। अहिले यो प्रविधिबाट मुटुमा परेको प्वाल टाल्ने तथा खुम्चिएका धमनी खुलाउने गरिन्छ।
हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको निर्देशक अधिकारी बताउँछन्।
‘छातिबाट चिरेर गरिने अपरेशनले छातिमा दाग देखिन्छ। त्यसलाई बिरामीहरुले केहि असहजताको रुपमा लिन्थे। छातिमा भएको दाग बाहिरै देखिने भएर पनि होला। तर यो प्रविधिबाट उपचार गर्दा त्यस्तो केहि दाग हुँदैन्। त्यसैले बिरामीहरुलाई पनि सजिलो भएको छ’, अधिकारीले भने।
ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट उपचार गर्दा बिरामीहरु अपरेशन गरेको भोलिपल्ट घर जान सक्छन्। अपरेशन गरेको १ महिना पछि आफ्नो नियमित काम गर्न सक्छन्। अपरेशन गर्दा बिरामीलाई बेहोश पार्न पर्दैन।
चिरफार गरेर गर्ने अपरेशनमा बिरामीलाई बेहोश बनाउनुपर्छ। अपरेशन गरेको ५,६ दिनसम्म अस्पतालमा बस्नुपर्छ भने पहिलेकै अवस्थामा फर्किन २,३ महिना लाग्छ।
हृदय केन्द्रले ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट बार्षिक करिब ४ सय ५० बढीको मुटुको प्वालको उपचार गरिरहेको छ। यो प्रविधिबाट उपचार गर्दा चिरफार नगर्ने हुँदा थप सुरक्षित हुने अधिकारी बताउँछन्। ‘अस्पताल धेरै बस्न पर्दैन्। चाडै आफ्नो दैनिकीमा फर्किन सकिन्छ’ उनले भने।
हृदय केन्द्रमा हरेक वर्ष २ सय ७५ जनालाई ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट नै मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया (एसडी डिभाइस क्लोजर) गरिन्छ। सोही प्रविधिबाट मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया (भीएसडी डिभाइस क्लोजर) वार्षिक एक सय जनाको गरिन्छ। त्यस्तै मुटुबाट फोक्सोमा जाने धमनी, मुटुबाट शरीरमा जाने धमनीको बीचमा हुने प्वाल टाल्ने शल्यक्रिया (पीडीए डिभाइस क्लोजर) पनि एक सय जनामा गरिन्छ।
केन्द्रले मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया एसडी डिभाइस क्लोजरबाट सन् २००७ देखि २०१५ सम्म १ सय ७४ जनाको गरेको छ।
सन् २०१६ देखि भने यो शल्यक्रिया गराउनेको संख्या बढेको छ। सन २०१६ मा १ सय २३, सन् २०१७ मा १ सय ६०, सन् २०१८ मा २ सय ५१, सन् २०१९ मा २ सय ४५, सन् २०२० मा १ सय, सन् २०२१ म २ सय ३६ र सन् २०२२ मा २ सय ७४ को एसडी डिभाइस क्लोजरबाट मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया भएको छ।
त्यस्तै पीडीए डिभाइस क्लोजरबाट मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया सन २००७ देखि सन २०१५ सम्म ५५ जनाको गरिएको केन्द्रले जनाएको छ। सन् २०१६ मा ४३, सन् २०१७ मा १०९, सन् २०१८ मा १५३, सन् २०१९ मा ११५, सन् २०२० मा ७२, सन् २०२१ मा ९८ र २०२२ अक्टोबरसम्ममा १२४ जनाका मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया गरिएको छ।
ट्रान्स क्याथेटर डिभाइस क्लोजर गर्न सक्ने अस्पताललाई मुटुरोगको उत्कृष्ट अस्पताल मानिन्छ। नेपालमा गंगालाल हृदय केन्द्रमा मात्र यो शल्यक्रिया गरिन्छ। केन्द«मा अहिले यो शल्यक्रिया गर्ने ६ जना विशेषज्ञ छन्। यो संख्यालाई अझै बढाउदै लैजाने निर्देशक अधिकारी बताउँछन्।
प्रकाशित: ४ माघ २०७९ १३:५५ बुधबार