स्वास्थ्य

भक्तपुरमा ८० प्रतिशतले लगाए पूर्ण मात्र खोप

भक्तपुरमा हाल ८० प्रतिशतले मात्र पूर्ण खोप लगाएको जनाइएको छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा खोपसम्बन्धी सूक्ष्म कार्ययोजनाबारे कार्यशाला गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुरमा हाल ८० प्रतिशतले मात्र पूर्ण खोप लगाएको अवस्था रहेको जनाएका हुन्।

उनले शतप्रतिशत खोपको सुनिश्चितता आफूहरूको योजना रहेको बताए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताए।

सरकारबाट निःशुल्क रुपमा प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा नपाएर धेरै नागरिकहरूले अकालमा ज्यान गुमाउन परिरहेको यथार्थ प्रस्तुत गर्दै उनले स्वास्थ्य संस्थाहरू व्यापक जनताको सेवाको निम्ति सञ्चालन हुनुपर्ने धारणा राखे।

राज्य बलियो भए निजी संस्थाहरू स्वतः कमजोर हुँदै जाने बताउँदै उनले भक्तपुर नपाले राज्यलाई बलियो बनाउने उद्देश्यले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए।

भक्तपुर नपाले नगरभरि निःशुल्क रुपमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको अवगत गराउँदै सरकारी अस्पतालको स्तरोन्नतितर्फ सरकारको ध्यान जान जरुरी रहेको उनले बताए।

ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले स्वास्थ्य संस्थाको कार्यक्षेत्रभित्रको आधारभूत जानकारी प्रस्तुत गर्दै खोप कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्यहरूमाथि प्रष्ट पारे। 

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत शान्तिराम खतिवडाले खोप कार्यक्रमको उपलब्धिहरूमाथि चर्चा गर्दै खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा पुर्‍याउने र सो कायम गर्ने योजना रहेको बताए।

प्रकाशित: २५ पुस २०७९ १३:५२ सोमबार