स्वास्थ्य

बाँकेमा दिनहुँ बढ्दै दादुरा रुवेला रोगको संक्रमण

नेपालगन्जमा दादुरा रुवेला रोग विरुद्ध खोप लगाइँदै।

बाँकेमा दादुरा रुवेला रोगको संक्रमण दिनहुँ झन् बढ्दै गएको छ। दादुरा रुवेला रोगको संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी अढाई वर्षका बालकको मृत्यु भएको छ। दुई दिनअघि उनको उक्त रोगको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टी गरेको छ। अझै थुपै बालबालिकाहरु दादुरा रुवेला रोगबाट संक्रमित छन्।

दादुरा रुवेला रोगको संक्रमणबाट नेपालगन्जका विभिन्न १० वटा र खजुरा गाउँपालिकाको एउटा वडा प्रभावित भएका छन्। रोगबाट नेपालगन्जको ८, ७, ५, १४ नम्बर वडा प्रभावित भएका हुन्। नेपालगन्ज वडा नम्बर ८ मा २९, वडा नम्बर ७ मा २५, वडा नम्बर ५ मा ११ जना, वडा नम्बर १४ मा ४ जना, वडा नम्बर ९ मा २ जना र नेपालगन्ज १, १०, ११, १५ र २२ नम्बर वडामा १/१ जना संक्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा ७६ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ। यही पुस १२ गतेदेखी २२ गतेसम्म नेपालगन्जमा मात्रै ३६ जनामा रोग संक्रमण देखिएको थियो।  

त्यसपछि पुस २३ गते ह्वात्तै बढेर नेपालगन्जमा २७ र खजुरामा एक जना गरी २८ जनामा संक्रमण देखिएको थियो। उपमहानगरपालिका क्षेत्रमा आइतबार पुनः १३ जनामा संक्रमण देखिएसँगै नेपालगन्जको कुल संक्रमित संख्या ७६ पुगेको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए। ‘दादुरा रुवेला रोगको संक्रमण दिनहुँ देखा परिरहेको छ, हामीले रोग विरुद्ध खोप कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं,’ उनले नागरिकसँग भने। नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडालाई यसअघि नै पूर्ण खोप घोषणा गरिएको छ।

कागजी रुपमा पूर्ण खोप घोषणा गरिएपनि ब्यवहारिक रुपमा खोप कार्यक्रम प्रभावकारी हुन सकेको छैन। संक्रमण फैलिएका वडामा विशेषगरी मधेसी र मुस्लिम समुदायको बसोबास रहेको छ। यहाँ पर्याप्त मात्रामा जनचेतना नपुग्दा बालबालिकाहरु खोप लगाउनबाट बञ्चित हुन पुगेको बताइन्छ। उपमहानगरपालिकाका एक कर्मचारी भन्छन्, ‘त्यतिबेला हतारमा पूर्ण खोप वडा घोषणा गरियो, वास्तवमा खोप कार्यक्रममा सबै बालबालिकालाई समेट्न नसकिएको अवस्था हो।’

नियम अनुसार बालबालिकालाई जन्मेको ९ महिना र १५ महिनाभित्रमा दुई पटक अनिवार्य रुपमा दादुरा रुवेला विरुद्धको खोप लगाइन्छ। तर, संक्रमण फैलिएको यि वडामा अधिकांस बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छैनन्। स्वास्थ्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले हरेक महिना खोप कार्यक्रम सञ्चालन गरिरहेको बताएपनि समुदाय स्तरमा खोप प्रभावकारी हुन नसकेको स्थानीय बासिन्दा बताउँछन्।  

संक्रमण फैलिएपछि खोपमा तिब्रता

रोगको संक्रमण फैलिएपछि खोप कार्यक्रम सञ्चालन गरिएको छ। संक्रमण फैलिएको नेपालगन्जका विभिन्न वडामा ६ महिनादेखी १५ वर्षसम्मका बालबालिकाको लक्षित जनसंख्या १० हजार ९ सय ९६ रहेकोमा आइतबार सम्म ३ हजार ४ सय ४० जनाले खोप पाएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यी वडामा यही पुस २२ गतेदेखी दादुरा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको छ। विभिन्न वडामा पुगेर दादुरा रुवेला रोगका शंकास्पद बिरामीको जाँच, परिक्षण तथा ब्यवस्थापन शिविर सञ्चालन गरिएको हो।

प्रकाशित: २४ पुस २०७९ १४:०२ आइतबार

दादुरा रुवेला