स्वास्थ्य

ताप्लेजुङमा खोप अभियान तीव्र

पूर्ण खोप सुनिश्चितता र दिगोपना बारे स्थानीय तहका प्रमुख र स्वास्थ्य शखा संयोजकको सहभागितामा कार्ययोजना तयारी गरिदैं। तस्बिर: खगेन्द्र/ नागरिक

ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ। जिल्लाका ९ स्थानीय तहमा कम्तिमा खोप सुनिश्चित भएको ९५ प्रतिशत माथि पुर्‍याउने योजनालाई कडाइका साथ कार्यान्वयन गरिने ताप्लेजुङका बरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले जानकारी दिए।

उनले पुसको तेस्रो साताबाट माघ,फागुन र चैतभर खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी सम्बन्धित खोपको मात्रा पूरा गर्ने र त्यसपछि पूर्ण खोप सुनिश्चितता वडा हुँदै पालिका बनाउने योजना रहेको बताए। त्यसका लागि सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई कार्ययोजना अनुसारको गतिविधि गर्न विशेष अनुरोध गरिएको बताए।  

सम्बन्धित स्थानीय तहका पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित स्वास्थ्यकर्मीहरुबाट यो कार्य भए/नभएको जानकारी लिई कार्य प्रगतिप्रति नियमित निगारानी गर्ने हो भने खोप लगाउन छुटेका बच्चाले पूर्ण खोप पाउने आधार तयार हुने घिमिरेको भनाइ छ।

प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चिता कायम गर्दै गएमा मात्र खोप पाउने अधिकार प्राप्तिमा नतिजा आउने आउने उनको भनाइ छ। ताप्लेजुङलाई गत असार २५ गते पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। पूर्ण खोपयुक्त बनाउने प्रकृया नियमित भइरहने र घोषणाका समयमा खोप लगाउन छुटेका बालबालिकालाई समेत खोज पड्ताल गरी खोपको सुनिश्चितता गरेमा मात्र खोपको दिगोपना सुरक्षित रहने स्वास्थ्य कार्यालयले जनाएको छ।

पूर्णखोप सुनिश्चितता जिल्ला समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले खोप लगाउन छुटेका बच्चाहरुलाई खोजी–खोजी खोप अभियानमा संलग्न गराउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे।  

प्रकाशित: २० पुस २०७९ १०:१० बुधबार

खोप