स्वास्थ्य

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ। म्याग्दे गाउँपालिका-४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो।

विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्र गतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको छ।

उक्त भवन २०८० साल जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। कुल लागत १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रुपैयाँ रहेकामा बोलपत्र-मार्फत सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको हो। हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनाए।

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसी लगायत २३ जनाको दरबन्दी रहनेछ। अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ। ‘मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुवातसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौं’, अध्यक्ष श्रेष्ठले भने। रासस

प्रकाशित: २० पुस २०७९ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App