स्वास्थ्य

ताप्लेजुङको पाथीभरा याङवरकमा ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम

घीउले भरिएको एउटा बट्टा। पौष्टिक आहारले भरिएको एक प्याकेट। र,साथमा आमा र शिशु दुबैले लगाउने न्यायो कपडा। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ यी सामाग्री लिएर सुत्केरी आमासंग साक्षात्कार गर्न हिड्न थालेकी छिन्।

पालिकाका सुत्केरी आमालाई पौष्टिक आहार र न्यानो कपडा सहितका सामाग्री वितरणका लागि गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’कार्यक्रम अघि सारेको छ। पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूका अनुसार पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार संस्थागत सुत्केरी हुने महिलाहरुलाई सुत्केरी प्याकेट वितरण गरिन्छ। पालिकाका ६ वटै वडाहरुमा यो कार्यक्रम लागु भएको लिम्बूले जानकारी दिए। यो सुबिधा प्राप्त गर्नका लागि स्वास्थ्य संस्थामै गएर सुत्केरी भएको हुनुपर्ने प्रावधान रहेको छ। तोकिए अनुसार गर्भ जाँच गराउने र सुत्केरी समेत स्वास्थ्य संस्थामै गएर गराउने प्रकृयालाई पालिकाले ‘संस्थागत सुत्केरी हुने महिला’को रुपमा ब्याख्या गर्छ।

स्वास्थ्य संयोजक लिम्बूका अनुसार यो कार्यक्रमले तीनवटा सेवालाई एकसाथ सरोकारवालामाझ पु¥याएको छ। पहिलो भनेको सुत्केरी महिलालाई पौष्टिक आहार र आमा तथा शिशुलाई न्यानो कपडा। दोस्रो–स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनु र गर्भवती अवस्थामा नियमित गर्भ जाँच सहितका स्वास्थ्य परार्मशमा सहभागी हुनु। र,तेस्रो–गर्भवती र सुत्केरी अवस्थामा अपनाइनुपर्ने स्वास्थ्य सम्बेदनशिलताका बारेमा जानकारी गराइनु/हुनु। 

पालिकाका स्वास्थ्य संयोजक लिम्बूले सुत्केरी प्याकेट बितरणसंगै आमा र शिशुको जीवन सुरक्षा,खानपान शैली र गर्भवती अवस्थामा अपनाइनुपर्ने तौढ तरिका बारे अनुशिक्षण समेत गराइने जानकारी दिए। दोस्रो पटक निर्वाचित त्यहाँका पालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष गुरुङको पहिलो कार्यकालमा समेत कार्यान्वयनमा रहेको यो कार्यक्रमले उनीहरुको दोस्रो कार्यकालमा समेत निरन्तरता पाएको छ।  

प्रकाशित: १३ पुस २०७९ १४:२० बुधबार

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका