स्वास्थ्य

कर्णालीमा २१ प्रतिशत असुरक्षित गर्भपतन

कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।

स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवती कुनै न कुनै वेला गर्भवती भइरहेको बताइन्।

कम उमेरमा गर्भवती हुने युवतीको संख्या सबैभन्दा बढी कर्णालीमा देखिएको छ, उनले भनिन्, ‘यसबाट असुरक्षित गर्भपतनको संख्या व्यापक भएको हुने गरेको छ।'

नेपालमा सुरक्षित गर्भपतन गराउन १ हजार ५ सय स्वास्थ्य संस्था सूचीकृत रहेको र कर्णालीमा ७० वटा सूचीकृत संस्था रहेको भट्टराईले बताइन्। 'गत वर्ष चार हजार आठ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए,’ उनले भनिन्, ‘जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन्।'

प्रदेशमा सुरक्षित गर्भपतनबारे एउटा मात्रै तालिम भएको भट्टराईले बताइन्।  ‘कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्,’ उनले भनिन्, ‘प्रदेशमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेको छन्।’

प्रकाशित: १२ पुस २०७९ १०:३२ मंगलबार

असुरक्षित गर्भपतन