स्वास्थ्य

फेरि बढ्यो कोरोनाको जोखिम

फायल तस्वीर

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ।

बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह-प्रवक्ता समीर कुमार अधिकारीले बताए। भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा. अधिकारीले बताए।

कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन्। केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने।

एक वर्ष पहिला नै बुस्टर डोज खोप लिएका, चौथो बुस्टर डोज नलिएका, एक मात्रा खोप नलिएका र तेस्रो मात्रा अर्थात् एक मात्रा पनि बुस्टर डोज नलिएका जनसंख्या कुनै पनि कोभिड संक्रमणको जोखिममा रहेकाले सरकारले नेपालमा कोरोना फैलिनुअघि नै खोप अभियान जारी राख्नुपर्नेमा अहिले अभियान प्रभावकारी नभएको उनले आरोप लगाए। तथ्यांकअनुसार नेपालमा अहिले ३४ प्रतिशत जनसंख्याले मात्र कोभिड १९ विरुद्धको तेस्रो डोज अर्थात् बुस्टर डोज खोप लिएका छन्।

खोप भण्डारण शाखाका अधिकृत वसन्त श्रेष्ठका अनुसार केही नगरपालिकाहरूमा बुस्टर डोज खोप अभियान जारी रहेको भए पनि अभियानकै रूपमा जारी नभइसकेको बताए। उनको अनुसार भण्डराणमा रहेका खोपहरू एक महिनाभित्र लगाइसक्नुपर्ने स्थितिका छन्।

ती खोपहरू बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिलकोेले प्रयोमगा आउन नसकेको खोप सल्लाहाकार समितका पूर्वसदस्य डा. रमेशकान्त अधिकारीले बताए। अधिकारीका अनुसार बुस्टर डोज खोप लिएर एक वर्ष पुगिसकेकालाई थप मात्रा दिनुपर्ने र दुई महिनाअघि नै चौथो डोज खोप दिन समितिले सुझाएको थियो। अहिलेको जोखिमवाट बच्नको लागि सरकारले अति जोखिम समूहहरू क्यान्सर तथा मिर्गौलाका बिरामी, दीर्घरोगी सबैलाई पहिला चौथो बुस्टर डोज खोप दिएर मात्र अरू जनसंख्यालाई खोप दिन सुझाव दिए।

स्रोतका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत पठाइएको सिनोभ्याकको ४२ लाख ८० हजार बढी डोज खोप भेरोसेलका खोप भण्डारणमा छन्। ती खोपको प्रयोग मिति सकिन लागेको जानकारी पाएपछि चीनले नेपाललाई खोपको स्थिति बारे सोधपुछ गरेको स्रोतले जानकारी दिए। अन्य कम्पनीका खोप लिइसकेका जनसंख्या धेरै भएकाले उनीहरूमा समेत प्रयोग मिति सकिन लागेका छन्।

प्रकाशित: ११ पुस २०७९ ००:४३ सोमबार

फेरि बढ्यो कोरोनाको जोखिम ‘बिएफ ७’