शिक्षा

लामो बिदा: विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन्। उनी दशैं तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसकेकी छ। लामो विदामा पहाड उक्लिएकी विक एक महिनापछि विद्यालय जाँदा धेरै कुरा बिर्सिसकेको अवस्था छ।

‘पढाइमा छोरी राम्रै थिइन्, फरर उच्चारण गरेर पढ्ने, लेखाइ पनि राम्रो थियो, एक महिना विदामा गाउँ गयौं’, सम्झनाकी आमा रत्ना विकले भनिन्, ‘अहिले त छोरी धेरै कुरा बिर्सिसकेकी छिन्, उनलाई आफ्नै कोर्ष नयाँ लाग्न थालेको छ।’ उनले शिक्षकको सल्लाहमा छोरीले बिर्सेका कुरा अध्ययनका लागि अतिरिक्त कक्षा सुरु गरेको बताइन्।

लामो समय बालबालिका विदामा बस्दा पहिले पढाइ भएका अधिकांश कुरा बिर्सने गरेको शिक्षक बताउँछन्। दशैं तिहारको एक महिना बिदापछि यही कात्तिक १४ गतेदेखि विद्यालय पुनः सञ्चालन भएका छन्। विद्यालय आउँदा बालबालिकाले धेरै कुरा बिर्सेको सेतीमैया चौधरी माविका प्रधानाध्यापक पतिराम चौधरी बताउँछन्।

‘बालबालिका बिदामा किताबबाट टाढा रहे, घरमा पढ्ने वातावरण भएन, अधिकांशले पहिला पढेका कुरा बिर्सिएको पाइयो’, उनले भने, ‘अब पहिला पढेका कुरा पुनः सम्झाउने काम भइरहेको छ। साना कक्षाका बालबालिकामा यस्तो समस्या बढी पाइयो।’

मल्लिका विद्यापीठ टीकापुरका प्रधानाध्यापक टीकाराम आर्यको पनि यही गुनासो छ। हाल उनीसँग आश्रममा चार विद्यार्थी बस्दै आएका छन्। घरमा बस्दै आएका अन्य विद्यार्थी विद्यालय आउँदा पहिले पढाइ भएका धेरै कुरा बिर्सेर आएको र आफूसँगै आश्रममा बस्दै आएका विद्यार्थीको त्यस्तो समस्या नभएको उनी बताउँछन्।

‘बिदामा पनि बालबालिकालाई नियमित पढ्न लगाउनुपर्छ, विदामा बालबालिका कितावबाट टाढा रहेकाले यस्तो समस्या देखिएको हो’, ‘यसरी महिनौंसम्म नपढेपछि साना बालबालिका बिर्सिन्छन्।’

जानकी गाउँपालिका-७ स्थित मोति मावि मोतिनगरका प्रधानाध्यापक दीपक दास यसको सबै अपजस शिक्षकमाथि आउने गरेको दुखेसो गर्छन्। ‘विद्यालयमा हुँदा शिक्षक र घरमा रहँदा अभिभावकले ध्यान दिने हो, आफ्नो जिम्मेवारी महसुस गर्ने हो भने विद्यार्थीमा यस्तो कमजारी देखिंदैन’,उनी भन्छन्,‘तर अभिभावकले खासै बालबालिकालाई समय दिएको देखिंदैन। एक महिनामा बालबालिका अधिकांश पढेका कुरा बिर्सेर आउँछन्।’

बिदाका समयमा विद्यार्थी नियमित पठनपाठन क्रियाकलपाबाट टाढा हुने हुँदा यस्तो बेला घरमा अभिभावकले निगरानी गरी विभिन्न शैक्षिक क्रियाकलापमा व्यस्त राख्न सके बालबालिका पठनपाठनमै व्यस्त हुन्छन् र नबिर्सने हुन्छन्। अब विद्यालयमा बालबालिकालाई पहिलेका कुरा सम्झने गरी दोहोर्‍याएर पढाउँदा केही हदसम्म पहिले पढाइ भएका कुराहरू सम्झन सक्ने जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाइ छ।

‘लामो विदापछि विद्यालयले बालबालिकाको पढाइ सुधारका लागि दोहोर्‍याएर पढाउनुपर्छ’, उनी भन्छन्,‘बिदामा गृहकार्य दिएको हुन्छ, अभिभावकले दिएको गृहकार्य गर्न सघाउने गरेको भए पनि सहज हुन्थ्यो।’

हरके वर्ष वर्षे, हिउँदे र दशैं बिदामा लामो समय विद्यालय बन्द हुन्छ। विद्यालय बन्दपछि विद्यालयमा पुनः पठनपाठन हुँदा विद्यार्थी पहिले पढाएका धेरै कुरा बिर्सेर आउने भएकाले लामो विदाबारे पनि सोच्न आवश्यक रहेको अभिभावक बताउँछन्। कतिपय ससाना बालबालिकाहरूलाई त झन् शून्यबाटै सुरु गर्नुपर्ने शिक्षकको गुनासो रहेकाले विदाका समयमा घरमा अभिभावकले ध्यान दिन सके यो अवस्था नआउने शिक्षकको सुझाव छ।

विदाको समय कसैको सामान्य, कसैको सिर्जनशील

लामो विदाको यो समय कैलालीका मावि तहका बालबालिकाले सामान्य तवरले मनाएका छन् भने कसैले सिर्जनात्मक काममा खर्च गरेका छन्। विद्यार्थी सिजर्नशील हुन्छन्। उनीहरूका लागि रहेक समय सिर्जनात्मक हुनु आवश्यक छ। कैलालीका केही विद्यार्थीले दशैंतिहार विदाको एक महिनाको समय सिर्जनात्मक बनाएका छन् भने केहीले सामान्य रूपमा मनाएका छन्।

पढाइको रफ्तार चलिरहेका बेला एक महिन बिदा हुँदा विद्यार्थीलाई विद्यालयले गृहकार्य दिने तथा घरमा पढ्नका लागि समय निकाल्न सुझाएका हुन्छन्। १० कक्षा का महेश साउँदले दशैं तिहार विदामा पढ्नमै समय बिताए। ‘पढ्ने विद्यार्थीका लागि एक महिना पर्याप्त हो। मैले पढाइमा मात्र ध्यान दिएँ’, उनी भन्छन्, ‘घरबाट बाहिर जान अनुमति थिएन। त्यसैले घरमै बसेर पढाइमा ध्यान दिएँ।’

वीरेन्द्र विद्या मन्दिरका रीतिका शाहले बिदाको समय पढाइसँगै नयाँ सीप सिक्ने, घरको काममा सघाएर बिताइन्। ‘मैले घरको काम सिके, भान्सामा नयाँ परिकार बनाउन सिकें’, उनी भन्छन्, ‘पढाइमा पनि ध्यान दिएँ, पेन्टिङ गर्न, चित्र बनाउन सिकें। यो समय मेरा लागि सिर्जनशील रह्यो।’

लामो समयसम्म पढाइ लेखाइबाट टाढा रहँदा, सिर्जनात्मक काम नगर्दा पढाइप्रतिको रुचि घट्न सक्छ। त्यसैले बिदाको समयलाई हरेक विद्यार्थीले सिर्जनात्मक बनाउनुपर्छ। बिदाको समयमा कोही विद्यार्थी पढाइ र नयाँ कुरा सिकाइमा व्यस्त रहन्छन् भने कोही पूरा समय खानपान र घुमफिरमा बिताउँछन्। १० कक्षाकै प्रकृति बोगटीले पनि घरको काम, अभिभावकलाई पसलको काममा सघाउने, नयाँ सीप सिक्ने गरी समय सदुपयोग गरे।

‘घरको काम सिकें, पसलको काममा सघाएँ, यसपटक रक्षा धागो बनाउन सिकें’, उनले भनिन्, ‘तिहारमा पकाइने परिकार बनाउन समेत सिकेकी छु।’

अंकित तिमिल्सिनाले पनि पसल र घरको काममा सघाउने, आफ्नो पढाइलाई समय दिनुका साथै रमाइलो गरी बिताए। जनजागृति मावि सितापुरमा ९ कक्षाका रविना परियार र रेखा परियारले पनि पढाइमै केन्द्रित भएर बिदाको सदुपयोग गरे। बिदाको समयमा विद्यार्थीले पढाइ सुधारका साथै सामाजिक कार्य, सिर्जनात्मक सीप सिक्न सक्ने भएकाले शिक्षकले समेत त्यही अनुसार गर्न सुझाव दिने र गृहकार्य दिने गरेको त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायत बताउँछन्।

‘हामीले बालबालिकालाई सामाजिक कार्यमा सक्रिय हुन सिकाएका हुन्छौं, नयाँ सीप सिक्न, जस्तै नृत्य सिक्न, गीत गाउन, रमाइला कार्यक्रममा सहभागी हुन सक्छन्’ उनी भन्छन्, ‘विद्यार्थीलाई पढ्न प्रेरित गर्नुका साथै सामाजिक जिम्मेवारी पनि सिकाउन आवश्यक छ।’ रासस

प्रकाशित: १७ कार्तिक २०७९ ०५:०८ बिहीबार

लामो बिदा आफ्नो जिम्मेवारी महसुस