शिक्षा

डोम समुदायका विद्यार्थीलाई रौतहटको शिवनगरमा सामूहिक सम्मान

रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा डोम समुदायका विद्यार्थीलाई सामूहिक सम्मान गरिएको छ। मधेसी दलितहरुमा सामाजिक विकास तथा शिक्षामा अत्यन्त पछाडी रहेको डोम समुदायका विद्यार्थीलाई सामूहिक सम्मान गरिएको हो।

श्री डोम समाज जिल्ला कार्य समिति रौतहटको आयोजना भएको सम्मान समारोहमा जिल्लाका करिब डेढ दर्जन डोम विद्यार्थीलाई सम्मानित गरिएको छ। हालै कक्षा १२ उत्तीर्ण गरेको डोम समुदायका विद्यार्थी अनिल मल्लीलाई पनि सम्मान गरिएको छ।  

रौतहटमा डोम समुदायबाट पहिलो सरकारी जागिरमा रहेका विजय मल्लीले संचालन गरेको कार्यक्रममा डोम समुदायका जिल्ला अध्यक्ष दिनेश मल्लीले जिल्लामा डोम समुदायमा शिक्षाको अवस्थाको बारेमा प्रकाश पारेका छन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवान तथा गरुडा नगरपालिका ५ का वडाध्यक्ष रामविनोद साहले समेत डोम समुदायको शिक्षामा आफूहरुले सहयोग गर्ने बताएका छन्।

हालै कक्षा १२ उत्तीर्ण गरेका अनिल मल्लीलाई उच्च शिक्षा पढ्ने चाहना भएको र साधारण शिक्षातर्फ उच्च शिक्षा लिन चाहेमा आफूले सम्पूर्ण खर्च बेहोर्ने वडाध्यक्ष साहले घोषणा गरेका छन्। डोम समुदायमा अत्यन्त न्युन साक्षरता रहेकोमा उच्च शिक्षाको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको वडाध्यक्ष साहले बताएका छन्।

प्रकाशित: ३० भाद्र २०७९ १२:३२ बिहीबार

तहटको गरुडा नगरपालिका