शिक्षा

ग्रेडिङ भन्दा ननग्रेडिङ बढी

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को प्रकाशित गरेको नतिजामा ग्रेडिङ भन्दा ननग्रेडिङ प्राप्त गर्ने विद्यार्थीको संख्या बढी  छ।  

यस पटक बोर्डले ग्रेडिङ प्रणाली ०७८ अनुसार नतिजा प्रकाशित गरेको छ। यसले शैद्धान्तिक विषयमा ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडिङमा वर्गीकृत गरेको हो।  

बोर्डका कक्षा १२ को उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार यस पटक जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा नियमित तर्फ कुल ३ लाख ६३ हजार ८ सयले परीक्षा दिएका थिए। जसमध्ये ३५ प्रतिशत र त्यो भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुको सख्या एक लाख ७५ हजार ३ सय ९० रहेको छ। अर्थात यो वर्षको नतिजामा कुल परीक्षार्थीमध्ये ४८.१० प्रतिशत मात्र कुनै न कुनै ग्रेडिङ प्राप्त गर्न सफल भएका छन्। अर्थात यी विद्यार्थीहरु मात्र स्नातकमा अध्ययन गर्न पाउने छन् भने ५१.९० प्रतिशत अर्थात एक लाख ८८ हजार ४ सय १० विद्यार्थीहरु ननग्रेडिङमा परेका छन्। अर्थात यी विद्यार्थीहरु स्नातकमा अध्ययन गर्न पाउने छैनन्।  

बोर्डले पहिलो पटक नयाँ ग्रेडिङ प्रणाली अनुसार  ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ समुहमा राखेर नतिजा प्रकाशित गरेको उपनियन्त्रक घिमिरेले जनाए।  

‘कक्षा १२मा ग्रेडिङ प्रणाली लागु भएको चार वर्ष भयो। गत वर्षसम्म ३० प्रतिशतमै ग्रेडिङ हुने गरेको थियो। यसले धेरै विद्यार्थी ग्रेडिङमा पर्थे तर गुणस्तरको सवालमा चुनौति थपिएको थियो,’ उपनियन्त्रक घिमिरेले भने ‘हाल बोर्डले ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्नेलाई ननग्रेडिङ गर्यो। यसले धेरै विद्यार्थी  ननग्रेडिङमा परे। विगत दुई वर्ष ०७७र ०७८मा स्कुललेनै मूल्याँकन गरि दिएको नम्बरमा बोर्डले प्रमाणिकरण गरि नतिजा प्रकाशित गरेकोले विगतका वर्षको नतिजासँग तुलना गर्न मिल्दैन। ’ उनले थपे‘ तर ०७३ अघिसम्म बोर्डले पास फेल अर्थात प्रतिशत प्रणालीमा नतिजा प्रकाशित गर्न औसत नतिजा ३५ देखि ५५ प्रतिशत मात्र पुग्ने गरेको थियो। एक पटक मात्र ५५ प्रतिशत विद्यार्थी पास भएको रेकर्ड छ। यो हेर्दा हालको नतिजालाई  राम्रै  भने मान्न सकिन्छ।’ तर यो सन्तोाषजनक नतिजा नभएको उनले पनि औल्याए।  

अब सरकारले किन धेरै विद्यार्थी ननग्रेडिङमा परेबारे अध्ययन अनुसन्धान गरि समाधानको उपाय तर्फ लाग्नु पर्ने सुझाए। ‘दुई विषयमा ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको मौका परिक्षा असोज ३० र ३१ गते हुने तय गरिएको छ,’ उनले भने ‘दुई भन्दा बढी विषयमा ३५ प्रतिशत भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीले सबै विषयको पुन परीक्षा दिनु पर्छ।’

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार ग्रेड प्राप्त गर्ने विद्यार्थीमध्ये पनि कमजोर ग्रेडका विद्यार्थी धेरै रहेका छन्। ३.६१देखि ४ जिपिए ल्याउने कुल विद्यार्थीको संख्या ४ हजार एक सय ७९ मात्र छ। यो कुल परीक्षार्थीको १.१४ प्रतिशत विद्यार्थीमात्र उच्च ग्रेडमा परेका छन् भने सबै भन्दा बढी विद्यार्थी २.८१ देखि ३.२ जिपिए ल्योन समूहमा छन्। अर्थात यो समूहमा कुल परीक्षार्थीमध्ये ६५ हजार २ सय ८४ रहेका छन्। प्रतिशतमा भन्नु पर्दा यो १७.९४ प्रतिशत हो। यसैगरी जिपिए २.४१ देखि २.८ समूहमा ६४ हजार ९३ विद्यार्थी रहेका छन्। यो समूहमा कुल परीक्षार्थीको १७.६१ प्रतिशत हो। अर्थात ३५.५५ प्रतिशत विद्यार्थी ग्रेडिङमध्ये पनि कमजोर ग्रेडिङमा परेका छन्। यस अर्थमा पनि यस पटकको नतिजा निकै कमजोर रहेको प्रष्ट भएको छ।  

यसैगरी ३.२४ देखि ३.६ जिपिए प्राप्त गर्ने विद्यार्थी ३० हजार एक सय ७ र जिपिए २.१देखि २.४ प्राप्त गर्ने विद्यार्थीको संख्या दश हजार ९ सय रहेको छ भने १.६१देखि २ जिपिए प्राप्त गर्ने ३५ विद्यार्थी छन्।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस पटकको कक्षा १२ को नतिजा विगत १० वर्षको प्रकृतिकै औषतमा रहेको जनाउँदै नतिजा सुधार तर्फ कक्षाकोठामा शिक्षण सिकाईलाई सुधार गर्दै जानु पर्ने सुझाए।

‘विगतको दश वर्षको नतिजा प्रवृति प्रतिशतको हिसाबमा ३५ देखि ५५ प्रतिशत पास हुने गरेका थिए। यो पटक पनि उही प्रवृतिमा रहयो,’ अध्यक्ष शर्माले भने ‘नतिजा उत्साहजनक होइन। ग्रेडवृद्धिमा धेरै पास त हुन्छन्। तर यो राम्रो होइन।’ उनले सुझाए ‘यस पटकको नतिजामा उच्च ग्रेडमा कम र औसत ग्रेडमा धेरै विद्यार्थी छन्। यसले पनि हाम्रो कक्षाकोठाको सिकाई उपलब्धीमुलक नभएको प्रष्ट हुन्छ। यसकारण अब शिक्षकले कक्षाकोठाको सिकाईमा बल गर्नु पर्ने देखियो।’

शिक्षाविद् बासुदेब काफ्लेका अनुसार कक्षा ११ र १२मा विद्यार्थीले उच्च शिक्षाको अपेक्षा लिएर सिकाई गरेको देखिएन भने शिक्षकले पनि परीक्षा प्रणालीलाई गम्भिरताकासाथ नलिएको कारण कक्षा १२को नतिजा कमजोर भएको हो। यति मात्र होइन सरकारले पनि कक्षा १२ सम्म माध्यमिक शिक्षा भने पनि कक्षा ११ र १२मा शिक्षक दरबन्दीको ब्यवस्था नगर्नुले पनि कक्षा १२को सिकाई उपलब्धी कमजोर भएको उनको तर्क छ।

‘सरकारले कक्षा १२ सम्म विद्यालय संरचना बनायो तर कक्षा १०पछिको सिकाईको निरन्तरता दिन सकेन,’ शिक्षाविद् काफ्लेले भने ‘सरकारले पनि कक्षा ११ र १२ालई अझै प्लस र विद्यालयले पनि प्लसटुकै ब्यवहारमा सिकाइ गरिरहेको छ। दुई शिक्षक अनुदानको भरमा कक्षा ११ र १२ चलाउन्छु भन्नु सरकारी मुर्खता हो।’ उनले थप ‘ग्रेडिङ हुदैमा सबै पास हुने गलत सोचाईबाट शिक्षक र विद्यार्थी दुबै मुक्त हुनु पर्छ।’

प्रकाशित: १८ भाद्र २०७९ ०१:५९ शनिबार

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२