शिक्षा

प्रविधिमैत्री शिक्षणले संस्कृत शिक्षामा आकर्षण

काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत माध्यमिक विद्यालयका कक्षा १० का लोमस सिग्देल आफूले संस्कृत विषय रोजेकामा निकै सन्तुष्ट छन्। विगतमा कक्षा ५ सम्म गुरुकुलमा शिक्षा हासिल गरेका सिग्देलले हाल अत्याधुनिक कक्षाकोठामा शिक्षकहरूले प्रविधिमैत्री शिक्षण सिकाइ गराउँदा विषयवस्तु बुझ्न निकै सहज र रमाइलो बनेको सुनाए।

‘गुरुहरूले स्मार्टबोर्डबाट संस्कृतका विषयवस्तु श्रव्य/दृश्य शिक्षण प्रणालीबाट सिकाउनुहुन्छ। यसले ज्योतिष, संस्कृति, संस्कार, कर्मकाण्डलगायत विषयवस्तु नबिर्सिने गरी बुझ्न सहज बनेको छ,’ १७ वर्षीय सिग्देलले नागरिकसँग भने, ‘यसले हामी संस्कृतका विद्यार्थीलाई प्रविधिसँग जोडिन सहज गरिदिएको छ।’ भविष्यमा पुराणवाचक बन्ने सपना बोकेका सिग्देलले थपे, ‘संस्कृत पढेकाहरूको स्वदेश तथा विदेशमा समेत उच्च माग र अवसर छ। अहिले गुरुहरूले ल्यापटप र प्रोजेक्टरबाट सिकाउँदा रमाइलो वातावरणमा सिक्न निकै सहज भएको छ।’

ज्योतिष विषयमा रुचि राख्ने लोमस बुढानिलकण्ठ मन्दिरका पुजारी पनि हुन्। युरोपियन तथा पश्चिमा देशहरूमा हाल संस्कृत अध्ययन गरेको जनशक्तिको माग उच्च भएकाले लोमस जस्तै थुप्रै विद्यार्थी अचेल संस्कृत विषय अध्ययन गर्न आकर्षित देखिएका छन्। संस्कृत माविमै भेटिएका अर्का विद्यार्थी मनीष खनालले पनि आफू सानैदेखि पुराणवाचक बन्ने सपनाले संस्कृत विषयतर्फ आकर्षित बनेको सुनाए।

‘संस्कृत अध्ययन गर्नेहरूको बोलिवचनमा मिठास हुन्छ। उनीहरू शब्दहरू शुद्ध उच्चारण गर्न क्षमतावान् हुन्छन्,’ मनीषले भने, ‘अब संस्कृत शिक्षा पनि आधुनिक प्रविधिसँग जोडिएकाले हामीलाई थप सक्षम बनएको छ।’ संस्कृत मावि रानीपोखरीका प्रधानाध्यापक शिवराज अधिकारीका अनुसार संस्कृत माविमा विगतमा भन्दा दोब्बरले विद्यार्थी बढेका छन्। दरबार स्कुलको अत्याधुनिक भवन बन्नुपहिले संस्कृत माविमा विद्यार्थी संख्या कक्षा ६ देखि १२ सम्ममा मुस्किलले साढे दुई सय पुग्ने गरेकामा यो वर्ष त विद्यार्थी भर्ना ह्वात्तै बढेको र फर्काउनुपर्ने अवस्था आएको उनी सुनाउँछन्।

‘आधुनिक भवन, स्मार्ट बोर्ड, प्रत्येक कक्षामा सिसिटिभी र मल्टिमिडियाद्वारा हुने शिक्षण सिकाइले यस वर्ष संस्कृत माविमा कक्षा ६-१२ सम्म ५ सय १५ विद्यार्थी भर्ना भई कक्षामा अध्ययन गरिरहेका छन्। कक्षा ११ मा भर्ना अझै बढ्ने देखिएको छ,’ प्रअ अधिकारीले नागरिकसँगको भेटमा भने, ‘प्रविधिमैत्री शिक्षण सिकाइमा सुधार भयो। संस्कृत शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ।’ सिसिटिभीको कक्षागत निगरानीले शिक्षकलाई विद्यार्थीप्रति उत्तरदायी, सभ्य र अनुशासित बनाएको छ। साथै संस्कृत शिक्षाको महत्त्व स्वदेश र विदेशमा बढेको अभिभावकले राम्ररी बुझेका कारण पनि अकर्षण बढेको छ।

उनका अनुसार विगतमा संस्कृत शिक्षा छात्रले मात्र हासिल गर्ने गर्थे तर हाल छात्राहरूको पनि आकर्षण बढेको छ। संस्कृत माविमा यस पटक कक्षा ६ देखि १० सम्ममा ४० छात्रा भर्ना भएका छन्। ‘छात्रा मात्र होइन, दलित र अन्य जातिका विद्यार्थीले पनि संस्कृत अध्ययन गरिरहनुभएको छ भने हाम्रो विद्यालयमा दलित समुदायका शिक्षकले पढाउनुहुन्छ,’ प्रअ अधिकारी भन्छन्, ‘संस्कृततर्फ संस्कृत विषयका साथै विज्ञान, अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा आधारभूत तहमा नेपाल भाषा पढाइन्छ भने कक्षा ९ देखि विद्यार्थीले ऐच्छिक विषयमा ऐच्छिक गणित, आयुर्वेद र कर्मकाण्ड तीनमध्ये प्रथम पत्रमा एक विषय अध्ययन गर्नुपर्छ।

द्वितीय पत्रमा ज्योतिष, वेद, व्याकरण, साहित्य र न्यायमध्ये एक विषय रोजेर अध्ययन गर्न पाउने व्यवस्थाले विद्यार्थीलाई माथिल्लो कक्षामा विज्ञान, प्रविधि तथा अन्य समूहतर्फ समेत बाटो खेलिदिएको छ।’ उनले ज्योतिष राम्रो जानेका विद्यार्थीको स्वदेश तथा विदेशमा उच्च माग रहेकाले पनि आकर्षण बढेको धारणा राखे। हाल संस्कृत माविमा कक्षा ६ देखि १० सम्म पहिलो त्रैमासिक परीक्षा सञ्चालित छ भने कक्षा १२ को पठनपाठन भइरहेको छ। 

प्रकाशित: १० भाद्र २०७९ ०३:५९ शुक्रबार

प्रविधिमैत्री शिक्षण संस्कृत शिक्षामा आकर्षण