शिक्षा

विद्यालयको लापरबाहीले मुसाले खायो छात्राहरुको सेनेटरी प्याड

मुसाले खाएको सेनेटरी प्याड तस्विरः ललित विष्ट

कालिकोटका अधिकांश विद्यालयमा छात्राहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड नपाएको गुनासो सुनिन थालिएको छ। दुर्गमका विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी हुँदा पाँच दिनसम्म विद्यालयमा नियमित नआउनुको समस्या भनेकै महिनावारी हो।

खाँडाचक्र नगरपालिकाको पञ्चदेवल माध्यामिक विद्यालयमा छात्राहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड मुसाले खाएको पाइएको छ। महिनावारी हुने छात्राहरुलाई नियमित विद्यालय आउनका लागि निशुल्क वितरण गर्ने भनि खाँडाचक्र नगरपालिकाले दिएका सेनेटरी प्याडहरु विद्यालय प्रशासन र विद्यालय नर्सको लापरबाहीका कारण गोदाममै थन्कीएर मुसाले खाएका हुन्।

जिल्ला सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिका—१ स्थित पञ्चदेवल मा.विको गोदाममा ९ बोरा सेनेटरी प्याड राखिएको छ। गोदामको तल बर्षातको पानी पसेर भिजेको छ। प्याडको बोरा भित्र मुसा पसेर खाएको छ। गोदामको साँचो विद्यालय नर्सले घरमा राखेर बिदामा छिन्।यस कारण छात्राहरुलाई नियमित प्याड दिने काम अलपत्र छ।

पञ्चदेवल मा.विमा कक्षा ९ मा अध्यायनरत छात्राहरुले आफूहरुले विद्यालयबाट सेनेटरी प्याड नपाएको बताएका छन्। उनीहरुले भने,‘विद्यालयमा न प्रध्यानाध्यापक नियमित आउँछन्। न विद्यालय नर्स नै नियमित। हामीलाई प्याड चाइयो कसलाई भनौँ। अन्य शिक्षकहरुसँग माग्न सकिदैन्। विद्यालयमा नर्ससँग प्याड माग्न सहज हुन्थ्यो। उहाँ बिद्यालय नै आउनुहुँदैन्। विद्यालयका महिला शिक्षकलाई भन्दा आफूहरुसँग गोदामको साँचो नभएको बताउछन्। ’

विद्यालयमा शिक्षकहरु आधा नियमित आउछन्। आधा आउदैनन्। प्रधानाध्यापक पनि नियमित नआउने भएकाले विद्यालय प्रशासन कमजोर छ। यसले हामीले पाउने सेवा र शिक्षण सिकाईमा असर गरेको छात्र,छात्राहरुको गुनासो छ।

विद्यालयका प्रधानाध्यापक सबराज बमले आफू काम विशेषले सुर्खेत तिर रहेको बताए। उनले भने, ‘विद्यालयमा सेनेटरी प्याड नर्सले बाँड्नु भएको छ। यो पटक उहाँ पनि बिरामी भनेर बिदामा बस्नु भएको छ। उहाँ नियमित विद्यालय त आउनु हुँदैन्। समय समयमा आइरहँनु हुन्छ । विद्यार्थीको छात्रवृति यो वर्षको बाँड्न बाँकी छ। नगरले ढिलो निकासा दिएका कारण विद्यालयको खातामा छ। म विद्यालय गएर बाँड्छु।’

कालिकोटका अरु स्थानीय तहका मा.वि विद्यालयका छात्राहरुले झन विद्यालय छोड्ने गरेका छन्। कालिकोटको अरु पालिकामा विद्यालय नर्स कार्यक्रम लागु नहँुदा छात्राहरुले विद्यालय छोड्ने दर वढेको हो।  

कालिकोटमा विद्यालयमा नर्स कार्यक्रम खाँडाचक्र नगरपालिकामा मात्र लागु छ। विद्यालयमा  छात्राहरुलाई सेनेटरी प्याड माग्न समस्या हुने गरेको छात्रहरुले बताउँने गरेका छन्। खाँडाचक्र नगरपालिका भित्रका ११ वटा मा.वि विद्यालयहरुमा  स्कुल नर्स कार्यक्रम लागु छ।

प्रकाशित: ९ भाद्र २०७९ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App